काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )को आज बसेको स्थायी कमिटीको वैठकले दुई वटा मात्र प्रस्ताव पारित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

१) आज २०७७ पुष ५ गते प्रधानमन्त्री श्री के पी शर्मा ओलीद्वारा गरिएको प्रतिनिधिसभा बिघटनको सिफारिसलाई असंवैधानिक, अलोकतान्त्रिक , निरङ्कुश , पश्चगामी र जनादेश, जनभावना एवं राजनीतिक स्थिरता बिरोधी स्वेच्छाचारी कदम ठहर गर्दै त्यसको तीब्र बिरोध एवं भर्त्सना गर्दछ । यसले नेपाली जनताले ठूलो बलिदानपूर्ण संघर्षद्वारा प्राप्त गरेको राजनीतिक परिवर्तन तथा उपलब्धिमाथि नाङ्गो प्रहार गरेको छ ।

संविधानत: संविधानको रक्षा गर्ने जिम्मेवारीमा समेत रहनुभएका सम्माननीय राष्ट्रपतिज्यूबाट यो असंवैधानिक कदमलाई स्वीकार गरिनु पनि गम्भीर रुपमा आपत्तिजनक रहेको छ । संविधान र लोकतन्त्र पक्षधर शक्तिहरुका लागि यो कदम स्वीकार्य हुन सक्तैन । तसर्थ हाम्रो पार्टी यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ र यसको राजनीतिक रुपमा कडा प्रतिवाद गर्दै कानूनी उपचार समेत खोज्नेछ ।

हाम्रो पार्टीका सबै नेता, कार्यकर्ता र पार्टी पंक्तिलाई संविधानको प्रावधान, मूल्य ,मान्यता एवं मर्म विपरीतको यस असंवैधानिक एवं निरङ्कुश कदमको बिरोध गर्न र पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका गतिबिधि एवं कार्यको बिरुध्द एकताबध्द भई पार्टी र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जुट्न आव्ह्वान गर्दछ ।

हामो पार्टी संसद भित्र र बाहिरका सबै राजनीतिक पार्टीहरु, नागरिक समाज, लोकतन्त्र पक्षधर शक्तिहरु र आम जनसमुदायलाई यो असंवैधानिक एवं अलोकतान्त्रिक कदमको बिरुध्द संविधान र लोकतन्त्रको पक्षमा एकताबध्द भई उभिन तथा भूमिका खेल्न अपिल गर्दछ ।

२) पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री के पी शर्मा ओलीले स्वेच्छाचारी किसिमले हठात प्रतिनिधिसभा बिघटनको सिफारिश गरी नेपाली जनताले कठोर बलिदानपूर्ण संघर्षबाट स्थापित जनताको सार्बभौमसत्ताको अभ्यास गर्ने प्रतिनिधिसभामाथि निर्मम प्रहार गर्नुभएको छ ।

पार्टी स्थायी कमिटीको वैठक जारी रहेको र संसदको अधिवेशन बोलाउनु पर्ने बेलामा दुई ठूला कम्युनिष्ट पार्टी को ऐतिहासिक एकता, पार्टीप्रति जनताले गरेको बिश्वास र भरोसामाथि प्रहार गर्दै देश, जनता र पार्टीको भविष्यलाई नै अन्धकारतर्फ धकेल्ने र नेपालको संविधानलाई असफल पार्ने कुकृत्य गर्नुभएको छ ।

यसरी उहाँले देश ,जनता र पार्टी माथि गर्नुभएको बिश्वासघात र प्रहार नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) को अन्तरिम बिधान ,२०७५ को धारा ५६ को (क) मा ब्यबस्थित बिभिन्न प्रावधान बिरुध्द भएकाले उहाँमाथि अनुशासनको कार्वाहीका लागि केन्द्रीय कमिटीको वैठकमा प्रस्ताव पेश गर्ने र यसका लागि २०७७ पुष ७ गते केन्द्रीय कमिटीको वैठक काठमाण्डौमा बोलाउने निर्णय गर्दछ ।

प्रतिक्रिया दिनुहोस !