डोल्पा : हिमाली जिल्लामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम गर्न छोडेको करीब एक महिना पुग्न थालेको छ । दुर्गम जिल्लाका जनता जोड्ने भरपर्दो माध्यमले राम्रोसँग काम नगरेपछि हैरानी खेप्नु परेको हो । जिल्लाका दुनै, जुफाललगायत ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा कमजोर भएपछि नागरिक हैरानीमा परेका हुन् । छिनमै देखिने, छिनमै हराउने र कुरै नबुझिने फोन तथा इन्टरनेट सेवाका कारण एक मिनेट कुरा गर्न पनि घण्टौँ कुर्नुपर्ने सर्वसाधारणले बताएका छन् ।

मुड्केचुला गाउँपालिकाका स्थानीयवासी हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको गुनासो गर्नुभयो । “सदरमुकाम दुनैकै फोन सेवा काम नलाग्ने भएको छ, बिसौँ पटक फोन डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै, डोल्पालीले ठूलो सञ्चार सास्ती खेप्नुपरेको छ”, रोकायले बताउनुभयो ।

पटकपटक अवरुद्ध भइराख्ने टेलिफोन टावर तथा जलविद्युत्को गुणस्तर सुधारका लागि जिल्लाका नेतृत्व उदासीन हुँदा बारम्बार नागरिकले सास्ती खेप्दै आएको समाजसेवी ओमेन्द्र केसीले बताउनुभयो । नेपाल टेलिकमको कमजोर सेवाकै कारण वर्षमा दर्जनौँ पटक दुर्गमका नागरिकले सञ्चारको समस्या भोग्दै आएको उहाँको भनाइ छ ।

लामो समयदेखि गुणस्तर खस्केको टेलिफोन तथा इन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैरसरकारी कार्यालयको सेवा प्रवाहसमेत प्रभावित भएको छ । कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन् । “फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घण्टौँ कुरेर पनि हुँदैन”, डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पँगेनीले गुनासो पोख्नुभयो ।

जनताको विकास योजना सम्झौतादेखि पेस्की रकम निकास गर्नसमेत हम्मेहम्मे परेको उहाँको भनाइ छ । जिल्लामा बाँडिएको एडिएसल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखामा भीडभाड लाग्ने गरेको छ । नयाँ खाता खोल्ने, चेक सटही गर्ने तथा बचत गर्नेलगायत कामका लागि सर्वसाधारणको भीडभाड लाग्ने बताइएको छ । इन्टरनेटले काम नगरेकै कारण हप्ताँैदेखि नयाँ खाता खोल्ने फाइल त्यतिकै थन्किएको सिटिजन्स बैंक दुनै शाखाका कर्मचारी धनगिरि फडेराले बताउनुभयो ।

बढ्दो अनलाइन कक्षाका कारण प्रयोगकर्ता बढेकै कारण डोल्पाको फोन तथा इन्टरनेट सेवा कमजोर भएको दूरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधार हुने आशा रहेको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिनुभयो । डोल्पाको टेलिफोन टावरको गुणस्तर सुधारका लागि जनताले सम्बन्धित निकायलाई माग गरेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस !