दक्षिण कोरिया : गैरआवासिय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका पूर्वअध्यक्ष राजु क्षेत्री त्यहाँको न्याय मन्त्रालयबाट सम्मानित भएका छन् । अपराध रोकथाम र स्थानीय समूदायमा युवालाई सही मार्गदर्शन दिन महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो । कोरियाको न्याय मन्त्रालयमा सम्मानित हुने क्षेत्री सम्भवतः पहिलो नेपाली हुन् । सम्मानित भएपछि प्रतिक्रिया दिँदै क्षेत्रीले कोरियाको दुई दशक लामो बसाईमा एकपछि अर्को सम्मान पाउनु आफू र नेपालीका लागि पनि गौरवको विषय भएको बताए ।

कानुन मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर क्षेत्रीलाई बधाई र असल कोरियन समाज निर्माणमा सहकार्यको अपेक्षा प्रकट गरे । नेपाली व्यावसायी क्षेत्रीको यो सम्मान कोरियन सरकारबाट पहिलो पटक भने होइन् । दुइ वर्ष अघि पोचान महानगरपालिकाले मानार्थ राजदूतमा नियुक्त गरेर सम्मान गरेको थियो भने सन् २o१३ मा सोल नगरपालिकाले तेक्वान्दो खेलको विकासमा उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ नागरिकता प्रदान गरेको थियो ।

राजु क्षेत्री कोरियन माझ नेपाली व्यावसायीभन्दा तेक्वान्दो खेलाडी, प्रशिक्षक र रेफ्रीबाट अझ बढी परिचित छन् । धेरै समय खेलकुदमा बिताउने क्षेत्री छैठौ डान ब्याल्क बेल्टधारी हुन् । खेलकुद गतिविधिमा सक्रिय क्षेत्रीलाई खेल संघसंस्थाले पनि सम्मान गरेको छ । यसैगरी विश्व तेक्वान्दोको प्रधान कार्यालय क्यूक्योन, विश्व तेक्वान्दो महासंघले उनलाई अन्तर्राष्ट्रिय प्रशिक्षक र रेफ्रीका रुपमा मान्यता र सम्मान गरेको छ ।

सहयोगी मनका धनी क्षेत्रीले नेपालको खेलकुद विकासका लागि वर्षेनी दर्जनौं तेक्वान्दो क्लब, एकेडेमीलगायतलाई खेल सामाग्री तथा आर्थिक सहयोग गर्दै आएका छन् । नेपालको महाभुकम्प र खाङवन्दो क्षेत्रमा भिषण आगलागीबाट पिडितलाई आर्थिक संकलन जुटाएर क्षेत्रीले राहत र आर्थिक सहयोग गरेका थिए । राजु क्षेत्री अहिले अमेरिका छन् । अमेरिकाबाट समावेशीअनलाइनसंग कुरा गर्दै आफुले पाएको पुरस्कारले आफुलाई थप जिम्मेवार बन्न प्रेरित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस !