काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ सम्म चरणबद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । कार्यक्रमअनुसार पुस २० गतेसम्म पालिकास्तरमा र २५ गतेसम्म वडास्तरमा भेला सँगसँगै प्रदेश, जिल्ला, पालिका र वडास्तरमा संघर्ष समिति पनि गठन गरिने छ ।

यस्तै पुस २१ गते संघीय राजधानी र देशका विभिन्न शहरहरुमा राजनीतिक पार्टीहरुसँग प्रधानमन्त्री केपी ओलीको कदमको विषयमा अन्तर्क्रिया कार्यक्रम गरिनेछ ।
यस्तै २३ गते नागरिक समाजसँग अन्तरक्रिया गरिनेछ भने २४ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाइनेछ । पुस २८ गते देशव्यापी घरघरमा पर्चा वितरण र गाउँ तथा टोलसम्म कालोझण्डा गाड्नेलगायतका विरोधका कार्यक्रम राखिएको छ ।

यसैगरी पुस २९ गते निर्वाचनस्तरीय भेला, ३० गते सबै वडाहरुमा विरोध प्रदर्शन, माघ ५ गते पालिकाहरुमा विरोध प्रदर्शन र १० गते काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा मोटरसाइकल र्याली निकालिने छ । यस्तै माघ १६ र १७ गते सबै प्रदेशमा विरोध सभा राखिएको छ भने २२ गते देशव्यापी मसालजुलुस गरिनेछ भने माघ २३ गते राजधानीमा विरोध प्रदर्शन र सभा गरिने, ‘असंवैधानिक’ कदम नसच्चिँदासम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस !