गलकोट : बागलुङको धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोट पुग्नका लागि पदमार्ग निर्माण शुरु गरिएको छ । पछिल्लो समय सर्वसिद्धिधाम पञ्चकोट पुग्ने पर्यटकमा उल्लेख्य वृद्धि भएसँगै बागलुङ नगरपालिकाले पदमार्ग निर्माणको थालनी गरेको हो । सडकमार्ग र पदमार्ग दुवै माध्यमबाट पञ्चकोट पु¥याउनका लागि शुक्रबारदेखि पदमार्ग निर्माणको थालनी गरिएको हो । बागलुङ नगरपालिका–६ सिम प्रगतिचोकदेखि पञ्चकोटसम्मको पदमार्गको झण्डै ३५० मिटर पदमार्ग निर्माण शुरु भएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु शर्माले जानकारी दिनुभयो ।

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रु सात लाख र गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु सात लाख ५० हजार गरी रु १४ लाख ५० हजार लागतमा उक्त पदमार्ग निर्माण गरिने छ । पदमार्ग निर्माणपछि पदमार्ग हुँदै पर्यटकीयस्थल पञ्चकोट पुग्ने पर्यटकलाई सहज हुनेछ ।

कोरोनाअघि पञ्चकोेटमा दैनिक करिब एक हजार आन्तरिक पर्यटक आउने गरेको बागलुङ नगरपालिका–६ का वडाध्यक्ष खिमराज सापकोटाले जानकारी दिनुभयो । पञ्चकोटमा अहिले झण्डै २२ करोड बराबरको भौतिक संरचना निर्माण भइसकेको छ । पञ्चकोट पुग्न पक्की सडक छ । पञ्चकोटमा गरुड शिला, सिसमहलजस्ता आकर्षक शैलीमा निर्माण गरेको संरचनाले पर्यटकलाई लोभ्याउँदै आएको छ । अहिले पञ्चकोटमा रु ३२ करोड लागतमा १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !