विराटनगर : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सत्य र न्यायका लागि आम नेपाली नागरिक एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । जसपाद्वारा आज यहाँ आयोजित जनप्रदर्शन तथा विरोधसभामा उहाँले भन्नुभयो, “जनविद्रोह र जनआन्दोलनबाट प्राप्त उलब्धिलाई रक्षा गर्ने हाम्रो दायित्व हो ।” उहाँले संविधानको प्रभूत्तालाई रक्षा गर्न जनसङ्घर्षको आवश्यकता आइपरेको भन्दै भूमिहीन किसानले भूमि पाउनुपर्ने, किसानले समयमै मल पाउनुपर्ने र महिला हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

डा भट्टराईले भ्रष्टाचारालाई निवारण गर्ने कार्यमा सरकार असफल भएको आरोप लगाउँदै मुलुकबाट गरिबी हटाउन बन्द उद्योग पुनःसञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले सुविधाजनक बहुमतको सरकारले संसद् भङ्ग गरेर निर्वाचन गराउन नखोजेको आशंका व्यक्त गर्दै सरकारको कदम शान्ति सुरक्षा, राष्ट्रिय एकता र सुशासनप्रति अडिग रहनुपर्नेमा जोड दिनुभयो ।

सोही पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राजनीतिक समस्याको निकास राजनीतिक तहबाट नै हुनुपर्ने बताउँदै जनताका अधिकार खोसिएकाले अदालतमा गएको धारणा व्यक्त गर्नुभयो । उहाँले जनविद्रोह र जनसङ्घर्षका लागि आमसमुदायलाई तयार रहन आग्रह गर्दै काम चलाउ सरकारले मन्त्रिमण्डल विस्तार गर्नु उपयुक्त नभएको बताउनुभयो । अध्यक्ष यादवले सरकारले राजनीतिक दललाई कमजोर पारेको, संवैधानिक अङ्गमा कब्जा जमाएको आरोप लगाउँदै शिक्षा, स्वास्थ्यमा सुधार नगरेको पनि बताउनुभयो । उहाँले कृषिलाई आधुनिकीकरण गर्न सरकार सफल नभएको उल्लेख गर्दै जनताको बलिदानबाट प्राप्त गणतन्त्र, सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

पार्टीका केन्द्रीय सदस्य जयराम यादव, मृगेन्द्रकुमारसिंह यादव, भूराज राई र महिला नेत्री विमला अर्यालले सरकारको कामकारवाही संविधान विपरीत भइरहेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !