काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले शुक्रबार उपत्यकाका विभिन्न नौ स्थानबाट हजारौँको संख्यामा आफ्ना नेता कार्यकर्ता भेला गरेर काठमाडौँको भृकुटीमण्डपमा विशाल सभा गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र नेता घनश्याम भुषालले सम्बोधन गर्दै जनताको बलमा ओलीको प्रतिगामी कदम परास्त गरेरै छाड्ने दाबी गरे ।
उनीहरुले केपी ओलीको संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संसदबिरुद्धको प्रहारबाट जोगाउन संघर्षको विकल्प नभएको बताए । सम्बोधनका क्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामात्र नभइ यो संविधान र शान्ति प्रक्रियालाई नै विघटन गर्न खोजेको भन्दै उनको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्दा देश बर्बादीतर्फ जाने भएकाले जनतामा जानुको विकल्प नभएको बताए ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा फेरि एकजुट भएर लड्नुपर्ने समय आएको बताए । परिवर्तनकारी शक्तिहरु मिलेर प्रतिगमनकारीहरुलाई परास्त गर्नुपर्ने उनको भनाइ थियो ।