झापा : पूर्वको पशुपतिनाथको रूपमा चिनिएको झापाको अर्जुनधारा जलेश्वरधामले गुरुयोजना लागू गर्न जग्गा अपुग भएको जनाउँदै भूमिदान महाअभियान शुरु गरेको छ । आज धाम परिसरमा आयोजित महाअभियानको घोषणासभामै विर्तामोडका शिक्षासेवी जयनारायण ढुङ्गानाले पन्ध्र सय वर्गफिट जग्गा खरिदका लागि रु पाँच लाख २५ हजार दान गर्नुभयो ।

पचास वर्षअघि खडेबाबा नामका एक सन्तले स्थापना गरेको यस धामको विकासका लागि हालै अनुमोदित गुरुयोजना पाँच बिघा जग्गामा फैलिएको छ । तर यसका लागि धाम क्षेत्रको दक्षिण सीमा जोडिएको १० कठ्ठा जग्गा अपुग भएको हुँदा सो जग्गा खरिदका लागि भूमिदान महाअभियान सचालन गर्नुपरेको धाम सञ्चालक समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो ।

अभियान घोषणासभामै विभिन्न दाताले रु १२ लाख मूल्य बराबरको भूमिदान गर्नुभएको उहाँले जानकारी दिनुभयो । धामले भूमिदान गरेर गुरुयोजनाको लक्ष्य पूरा गरिदिन आम भक्तजन एवं दाताहरुलाई आह्वान गरेको छ । खरिद गर्न लागिएको जग्गाको न्यूनतम एक वर्गफिट जग्गाको मूल्य रु ३५० हुने भएको जनाउँदै एक वर्गफिटदेखि माथि जति पनि भूमिदान गर्न सकिने धामका कोषाध्यक्ष मनोज जोशीले बताउनुभयो ।

काठमाडौँको शेर इञ्जिनीयरिङ कन्सल्ट प्रालिले अर्जुनधारा जलेश्वरधामको गुरुयोजना डिजाइन गरेको हो । गुरुयोजनामा धार्मिक क्षेत्रको विकास र व्यवस्थापनका लागि दर्जनौँ कार्यहरु गर्नुपर्ने औँल्याइएको छ । धामका कोषाध्यक्ष जोशीका अनुसार गुरुयोजनामा पाँच वर्षभित्र कार्यसम्पन्न गर्ने गरी रु ७५ करोड बजेट आवश्यक हुने उल्लेख छ । धामले आजै पत्रकार सम्मेलन गरी गुरुयोजना सार्वजनिक गरेको छ ।

वर्षेनी लाखौँ धार्मिक पर्यटकको ओइरो लाग्दै आएको अर्जुनधारा जलेश्वरधाममा हाल पशुपतिनाथकै जस्तो प्यागोडा शैलीको मन्दिर रहेको छ । महाभारतकालीन कथामा वर्णित अर्जुनले वाण हानेर गाईलाई पानी पिउने व्यवस्था मिलाएको स्थलको रूपमा ठूलो पोखरी, गुरुकूल र अन्य मठमन्दिर हाल धाम परिसरमा रहेका छन् ।

मूल मन्दिरको परिक्रमा मार्गभित्र धार्मिक मठमन्दिरबाहेक अरु कुनै पनि संरचना राख्न गुरुयोजनामा वर्जित गरिएको छ । गुरुयोजनाको कार्यान्वयनको क्रममा हाल सो स्थानमा रहेका केही पक्की संरचना हटाइनु पर्नेछ । महाभारतकालीन कथालाई उजागर गर्ने कलात्मक सङ्ग्रहालय, गुरुकूल, तीन तला भएको सवारी पार्किङस्थल, स्थायी व्यासासन, प्रहरी बिट, अतिथि गृहलगायतका नयाँ संरचना बनाउन गुरुयोजनामा स्थानको व्यवस्थापन गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस !