इलाम : जाडोमा खानामा पिरोपिरो अचार कति मीठो हुन्छ है । सब्जी, दाल अनि अचारका साथै, अलिलि अकबरे टोक्दै खाना खानुको मजै बेग्लै हुन्छ नि । अनि भनिन्छ नि, थोरै भए पनि अचारले खानालाई स्वादिष्ट बनाउँछ ।

अचारजस्तो, खाना त्यस्तै । तपाईंलाई अचार के को मन पर्छ ? आँप, तामा, मेथी, अकबरे, लप्सी के को ? मन परेर मात्र के गर्नु पाउनु पनि प¥यो । तर, चिन्ता नलिनु होस्, इलामको एकै ठाउँबाट अनेक प्रकारका अचारका स्वाद चाख्न पाइन्छ । चाख्न मात्र होइन किन्न पनि पाइन्छ । अचार किन्दा स्वस्थकर÷अस्वस्थकर भनेर डराउनु पनि पर्दैन । स्वस्थकर अनि स्वादिष्ट, एकपटक चाखे पनि खाउखाउ लाग्ने, खाइरहुँ लाग्ने । यसको बजार हो, इलाम नगरपालिका–७ स्थित नमूना कलेक्सन अचार पसल ।

यो पसल मात्र होइन, अनेक किसिमका अचार यही बनिन्छ । अर्थात अचारको उद्योग नै यही छ । यसका उद्यमी हुन्, चूडामणि रिजाल र सारदा बाँस्कोटा (रिजाल), जोइपोइ । रिजाल दम्पतीको पसल नयाँ किसिमको होइन, नयाँ तरिकाले गरिएको हो । सामान्य अचार जहाँ पनि पाइन्छ, तर मिश्रित अचारले मन तान्छ, जिब्रो रसाउँछ । पसलमै भेटिएका चूडामणिले भन्नुभयो, “नयाँ भेराइटिजको बनाएको हो । धेरै थोक मिक्स गरेर बनाउँछाँै ।” उहाँले थप्नुभयो, “धेरै दुःख गर्छांैै तर, विकेकै छ ।”

अचारका पनि विभिन्न प्रकारका छन् । अरू त अरू । अकबरेकै पनि भिन्नभिन्न प्रकार । भिन्नभिन्न प्रकारको विभिन्न स्वाद । कुनै नुनमा हालेको, कुनै बाक्लो लेदोमा राखेको । कुनै मसला मिसाएको, कुनै तेलमा राखेको । यति मात्र कहाँ हो र । अचारभित्रै स्वादिष्ट जलपाइ, मललिडो, टिम्बुर (बोके÷सिल), फिलुङ्गो सबै मिसाइएको पाइन्छ ।

गाउँघरमा फल्ने तर प्रयोग नहुने मेलदेखि फर्सीको बियाको अचार पाइन्छ यहाँ । यी सबै अचार बनाउन रिजाल दम्पती टाढा गएका होइनन् । घरमै सिके, घरमै बनाए । यसै सेरोफेरोमा चार वर्षअघि उद्योग खोले । नमूना कलेक्सन अचार उद्योग । शुरुमै केही केही भेराइटिज मात्र बनाइने अचार विस्तारै बढाउँदै लगियो । एक किसिमले गाउँको नगन्य खाद्यान्न सदुपयोगका लागि अचार बनाइएको हो । नयाँ स्वाद दिनका लागि रिजाल परिवारले धेरै थोक मिसाएर अचार बनाएका हुन् ।

औषधिमा प्रयोग हुने जडीबुटीलाई विशेष महत्व दिइन्छ । रिजालले भनेझैँ पसलमा लप्सी, कागती, किबीमा धेरै चीज मिसाएर नयाँ स्वादका अचार बनाइन्छ । चूडामणिले केही समयअघिसम्म कपडाको पसल गर्नुभयो । कपडाबाट घाटा थिएन । छोरालाई ती पसल चलाउन दिएर उहाँले अचारको पसल थाल्नुभएको हो । उद्योगमात्रै हुँदा खासै अचारको प्रवद्र्धन नहुने देखेपछि पसल खोलिएको हो ।

सम्भावना देखाउने रिजाल परिवार

पसल हेर्दा लाग्छ, त्यहाँ धेरै थोक छैन तर, पृथक वस्तु छ । जुन किन्नका लागि ग्राहकको भीड लाग्छ । अचारका स्वादका लागि यो पसल सबैथोक हो । यसबाट नयाँ तरिकाले काम गरेमा आकर्षक हुन सक्ने देखिन्छ । गाउँघरमै पाइने अनि खासै प्रयोग हुने सामग्रीबाटै बनिएका सामग्री प्रयोग गर्न जान्दाको परिणाम हो, यो । जिल्लाका अन्य क्षेत्रमा पनि स्थानीय वस्तुलाई प्रवद्र्धन गर्न पसल र उद्योग खोल्ने सफल भइन्छ भन्ने बुझिन्छ ।
–किरण पौड्याल

प्रतिक्रिया दिनुहोस !