काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आयोजना गरेको देशव्यापी आमहड्तालमा बिहीबार देशभर विभिन्न स्थानमा हालसम्म १०० जना बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँबाट ७६, भक्तपुरबाट १ तथा तनहुँबाट १६ जना पक्राउ परेका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेत्री अमृता थापा मगरलगायत रहेका छन् । प्रहरीका अनुसार बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको छ । बिहानै काठमाडौँको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताउनुभयो । सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै उक्त पार्टीले त्यसको विरोधमा बन्द आह्वान गरेको हो ।

त्यस्तै, चाबहिलको मित्रपत्रमा बा ५ ख २०३९ नम्बरको मिनिबसमा तोडफोड गरिएको छ भने कलंकीस्थित मकालु पेट्रोल पम्प नजिकै बा १ ज ६९३० नम्बरको ट्याक्सीको पछाडि सिसा फुटाइएको छ । नैकापमा बा ७ च ६५३९ नम्बरको कारमा ढुंगा प्रहार भएको छ । यता, चितवन बा ३ ख ३९३, ना १ ख १४३५ र ना ८ ख ४४८० ट्रकको सिसा फुटाइएको छ । इलाममा पनि ट्रकमाथि तोडफोड गरिएको छ भने हेटौँडामा बा ७ ख ९२८० नम्बरको ट्रकको सिसा फुटाइएको छ ।

यता, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । बसका रहेका यात्रु भने सकुसल रहेको उनको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस !