काठमाडौँ : सहिद, बेपत्ता योध्दा परिवार, बाग्मती प्रदेशको संयोजनमा प्रतिगामी कदमविरुद्ध आयोजित कोणसभामा बोल्दै सहिद परिवार लक्ष्मी गुरुङले मुलुकको पछिल्लो संविधान सहिदको रगतले लेखिएको हुँदा यसमा केपी ओली परिवारको कुनै भूमिका नभएको बताएकी छिन् । गुरुङ्गले प्रचण्डलाई चिडियाखानामा थुन्ने ध्वाँस दिने गृहमन्त्री बादललाई रुकुम,रोल्पा र इलामका वस्तीहरु उल्टिएपछि बादललाई नै थुन्ने झ्यालखाना बनाउने बताइन् । उनले घरमा भोटे ताल्चा ठोकेर भएपनि आफूहरु नचाहँदा नचाहँदै सडकमा आउन बाध्य भएको उल्लेख गरिन् ।

पूर्व सांसद जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओलीले कम्युनिष्टहरुको निम्ति झुसिलकीराको भूमिका खेलेको बताउनुभएको छ । उहाँले नागरिक समाज र सम्मानित निकायको सुुझावलाई लत्याउने ओलीको कदमलाई ट्रयाकमा ल्याउन पनि अदालतले संसद पुनःस्थापन गर्नु नै अहिलेको पहिलो प्राथमिकता र आवश्यकता रहेको बताउनुभएको छ ।

त्यसैगरी, सहिद परिवार सदस्य प्रमोद पौडेलले जुन संविधानले आफूलाई प्रधानमन्त्री बनायो त्यहि संविधानमाथि कुठाराघात गर्ने व्यक्तिलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताए । नेकपाका केन्द्रीय सदस्य हरि दाहालले मुलुकका उत्पीडित जनताको लागि बादल,टोपबहादुर रायमाझी, लेखराज भट्टहरु धोकेबाज भएको बताएका छन् भने नेकपाका अर्का नेता युवराज चौंलागाईंले ओलीले महेन्द्र पथमा हिँड्न खोजेको र जनतालाई लडाएर सहिदको संख्या बढाउन खोजेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !