
काठमाडौँ :नेपाल कम्युनिस्ट पाटीं (नेकपा) प्रचण्ड–माधव पक्षले पूर्वघोषित कार्यक्रमअनुसार भोलि माघ २८ गते बुधबारको जनप्रदर्शन तथा विरोधसभाको लागि स्थान र नेतृत्व तय गरेको छ । उपत्यकाका तीन जिल्लालगायत बाहिरबाट कार्यक्रममा आउने नेता तथा कार्यकर्ताहरुको जुलुस तथा जनप्रदर्शनलाई व्यवस्थित बनाउन राजधानीमा पाँच केन्द्रबिन्दु बनाइने आयोजकले जानकारी दिएका छन् ।
उपत्यकाको पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमललगायत पाँच ठाउँबाट जुलुश निकाल्ने तयारी छ । उपत्यकाको पुल्चोकबाट कृष्णबहादुर महरा,पम्फा भुसाल,रघुजी पन्त लगायतको नेतृत्वमा निस्कने जुलुश कुपण्डोल,थापाथली, सुन्धारा हुँदै मूलसभामा परिणत हुने कार्यक्रम र रुट तय भएको छ । त्रिपुरेश्वरबाट अष्टलक्ष्मी शाक्य,घनश्याम भुसाल,जनार्दन शर्मा, वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको नेतृत्वमा निस्कने जुलुश सुन्धारा हुँदै मूलसभामा जोडिनेछ भने माइतीघरबाट अमृत बोहोरा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, गणेश साह, मातृका यादवलगायतको नेतृत्वमा थापाथली, त्रिपुरेश्वर हुँदै मूलसभातर्फ अगाडि बढ्ने बताइन्छ ।
केशरमहलबाट देवप्रसाद गुरुङ, भीम रावल, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेललगायतको नेतृत्वमा दरवारमार्ग, तीनधारा पाठशाला, असन, कमलाक्षी, ईन्द्रचोक, जुद्ध शालिक, न्यूरोड हुँदै नारा जुलुससहित मूलसभामा मिसिने छ । त्यसैगरी जमलबाट लीलामणि पोखरेलको नेतृत्वमा निस्कने जुलुश कमलाक्षी, असन, ईन्द्रचोक, जुद्ध शालिक, न्यूरोड हुँदै मूलसभामा मिस्सिने छ । विरोधसभामा सहभागी हुन विभिन्न जिल्ला, प्रदेश, स्थानीय निकायले समेत आवश्यक तयारी पूरा गरेको आयोजकले जानकारी दिएका छन् ।