काठमाडौं । कोरोना महामारीपछि गत चैतमा शुरु गरिएको लकडाउनवीच रातारात अरबपति बन्ने दाउमा ओम्नी समूहको सहायक संस्था ओबीसीआईलाई प्रयोग गर्नेहरूले गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको आमसभामा छुट्टै फोटो सुट गरेर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनाएका छन् ।

चीनबाट कोरोना रोकथामको सामान सप्लाईमा कालोसूची खाएका युवराज शर्माले ‘आइ एम वीथ केपी ओली’ भन्दै पोष्ट गरेको फोटो र विवरणमा नागरिक समाज र प्रचण्ड–माधव खेमातिर औंलो ठड्याउँदै भनिएको छ, ‘हैन, यिनीहरूलाई जनआन्दोलन शब्द कति सस्तो भा’को ? कसैलाई पानीफोहोरा खा’को रिसमा, कसैलाई प्रधानमन्त्री हुन नपाउँदा र कसैलाई प्रेमकुमार राई अख्तियार प्रमुख भएको डरले आदि ।’ तिनै शर्माले अर्को पोष्टमा लेखेका छन्, ‘केही फ्रण्टलाइन मिडियाहरूमा जनआन्दोलन २०६२–०६३ को धङ्धङी अझै देखिन्छ तर क्रमशः कमजोर साबित हुँदैछन् ।

किनकि त्यहाँ प्रायोजित र निहित स्वार्थको गन्ध छ ।’
अर्को पोष्टमा उनले गत शुक्रबारको आमसभालाई केपी ओलीको समर्थनमा भएको ऐतिहासिक भेला र ¥याली भनेका छन् । विवादास्पद ओम्नी समूहले बनाएको सेटिङ्गबमोजिम पहिले ओबीसीआईले चीनबाट स्वास्थ्य उपकरण ल्याउने र त्यसपछि सरकारले सोझै खरिद गर्ने प्रपञ्च रचिएको थियो । ओबीसीआईको प्रस्ताव अन्यभन्दा सस्तो बनाउन उनीहरूले अनिता सप्लायर्सको नाममा बढी मूल्य उल्लेखित अर्को प्रस्तावसमेत पेश गरेका थिए । ओम्नीमा रविन श्रेष्ठ, उनकी बहिनी बबिता र युवराज शर्माको संलग्नता पुष्टि भएको थियो । रविनको उक्त योजनाअन्तर्गत सरकारको माथिल्लो निकायसम्म तत्काल पहुँच पु¥याउने प्रयोजनका लागि समूहमा उनका बहिनी ज्वाईं शर्मा थपिएका थिए ।

श्रेष्ठ हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तथा बोर्ड प्रेसिडेण्ट युवराज शर्माका जेठान हुन् । शर्मा नेपाल सरकारले चैतमा गठन गरेको कोभिड–१९ उच्चस्तरीय समन्वय समितिको क्वारेण्टाइन व्यवस्थापन उपसमितिमा सदस्य छन् । समितिका संयोजक इश्वर पोख्रेललगायतसँग आफूहरूको योजना बुझाउन र काम फत्ते गर्न ज्वाईंको संलग्नताले सहज हुने पनि उनीहरूले निश्कर्ष निकालेका थिए । हुन त, शर्मा उच्च माध्यामिक विद्यालयहरुको संगठन हिसानका वरिष्ठ उपाध्यक्षसमेत हुन् । केही दिन अघिसम्म सामाजिक सञ्जालमा आफ्नो कलेज र हिसानको पद दुवै उल्लेख गरेका शर्माले खरिद प्रकरणको विवाद बढेपछि हिसानको उपाध्यक्ष मात्र लेख्दै आएका छन् ।

काठमाडौंको पुतलीसडक ठेगाना राखेर विभिन्न संघ, संस्था दर्ता गरेका श्रेष्ठ कालोपुलका हुन् तर उनी नुवाकोटको त्रिशूली बजारमा जन्मिएर हुर्केका थिए । शुद्ध पञ्चायती पारिवारिक पृष्ठभूमिका उनले पछिल्ला दिनमा तत्कालीन एमालेका उच्च नेतासमक्ष पहुँच पु¥याएर जस्तो काम पनि हत्याउन सफल हुँदै आएका छन् । श्रेष्ठले दर्ता गरेका विभिन्न संस्थामध्ये मल्टिनेशनल एडभरटाइजर्स, अनिता बिजनेश हाउस र अनिता सप्लायर्सको सञ्चालकमा उनकै बहिनी तथा शर्माकी कान्छी श्रीमती बबिता श्रेष्ठ देखिन्छिन् । ती प्राइभेट कम्पनीले सरकारी निर्माण, ठेक्कापट्टा, सरकारी कार्यालयमा स्टेशनरीदेखि अन्य सामानको आपूर्ति, क्लिनिक तथा निजी अस्पतालमा सेटिङ मिलाएर स्वास्थ्य उपकरण आपूर्ति गर्दै आइरहेका छन् । बबिता र रबिनले पछिल्लो दिन काठमाडौंका ठूला ब्युटी पार्लर, कस्मेटिक शप तथा डिपार्टमेण्ट स्टोरमा लिपिस्टिक, क्रिम, पाउडर, गाजल, नङ पालिसको व्यापार गर्दै आएका थिए । उनीहरूले नेपालका लागि रेभ्लोनको डिलरसीपसमेत लिएका छन् । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस !