
काठमाडौं । शनिबार जनयुद्ध दिवसका अवसरमा पेरिसडाँडा कोटेश्वरमा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौँ सहिदहरुको बलिदानीबाट प्राप्त उपलव्धि मानिएको संविधानको घात गरेको र सहिदहरुको सपना कुल्चने प्रयास भएको भन्दै इतिहासका महान ती सहिदहरु कहिल्यै मर्न नसक्ने पनि बताएका छन् । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलगायतले लाखौं जनताको बलिदानीपछि प्राप्त संविधान कुल्चन सक्छु भनेर सोचेकोको भए त्यो भ्रमबाहेक अरु केही नहुने बताए ।
उनले आन्दोलन र त्यही आन्दोलनको जगमा प्राप्त उपलव्धि जोगाऔं भन्ने नयाँ प्रतिवद्धता आवश्यक रहेको पनि बताए । ‘उपलव्धिलाई गुम्न दिनेछैनौँ, फेरि पनि बलिदान दिन तयार छौँ भनेर संकल्प गर्ने दिन आवश्यक छ’, प्रचण्डको भनाइ छ । उपलव्धिहरुलाई जोगाउन फेरि सवै नेपाली एकजुट भएर संघर्षमा उत्रने संकल्प गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाइ छ ।
‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठुलो भ्रममा छन् । उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव राख्न चाहान्छु’, प्रचण्डले भने, ‘नत्र भने हजारौ कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकाविरुद्ध धावा बोल्नेछन् ।’