काठमाडौँ : पौष शुक्ल पूर्णिमादेखि शङ्खरापुर नगरपालिकाको साँखुमा माधवनारायण व्रत गरिरहेका वर्तालुलाई आज खीर (तस्मी) भोजन गराइएको छ । बर्तालुलाई प्रत्येक वर्ष माघ शुक्ल नवमी अर्थात द्रोण नवमीका दिन खीर भोजन गराउने परम्परा छ । खीरसँगै फलफूलका रुपमा उखु र सुन्तला, केराउ एवं पालुङ्गोको सब्जी पनि खुवाउने परम्परा रहेको साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठले जानकारी दिनुभयो । वर्तालुलाई यसअघि पशुपतिनाथ, शेषनारायण र पनौतीमा पैदल यात्रा गराइसकिएको छ ।

माघ शुक्ल एकादशीका दिन साँखुबाट भक्तपुरको चाँगुनारायणसम्म तीर्थयात्रा गराइन्छ । चाँगुनारायण मन्दिरमा माघ शुक्ल द्वादशीका दिन स्नान, पूजाआराधना गरी त्यसै दिन बेलुकी साँखु फर्कने व्रत विधि छ । विगत वर्षमा करीब ४०० जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष कोरोना महामारीका कारण ४९ जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिएको छ । महिला ३५ र पुरुष १४ गरी ४९ जना यसपटक व्रतमा सहभागी भई परम्परादेखि गरिँदै आएको माधवनारायण व्रतको संस्कृति संरक्षण गरिरहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताउनुभयो ।

कोरोना महामारी भए पनि शालीनदीमा विगत वर्षमा जस्तै दर्शनार्थीको भीड लाग्ने गरेको छ । कोरोनापछि सबै क्षेत्र खुला भइसकेकाले दर्शनार्थी विनाहिच्किचाहट शालीनदीमा आइरहेका छन् । शङ्खरापुर नगरपालिकाले माधवनारायण मेला नचलाउने भने पनि देशका विभिन्न भागबाट स्वतःस्फूर्तरुपमा भक्तजन शालीनदीमा आएको समितिले जनाएको छ ।

शनिबार र सार्वजनिक बिदा परेका दिन शालीनदीमा भक्तजनको भीड लाग्ने गरेको छ । शालीनदीस्थित माधवनारायण मन्दिर जाने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम छ । मास्क नलगाई जानेलाई समितिले निःशुल्क मास्क वितरण गरिरहेको छ । सबै भक्तजनलाई हातमा स्यानिटाइजर लगाएर मात्र मन्दिर प्रवेश गराइन्छ ।

प्रतिक्रिया दिनुहोस !