
धनगढी: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार राजनीतिक दलले धनगढीको खुल्ला मञ्चमा आमसभा गरेको छ। सभामा विप्लवका नेता तथा रणनीतिक संयुक्तमोर्चाका अध्यक्ष देवीदत्त पाण्डेयले सरकारले सुकुम्वासीहरुलाई तत्काल जग्गा उपलव्ध गाउनुपर्नेमा जोड दिए। उनले हत्या हिंसा बढ्दै गएको तर सरकारले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए।
यस्तै कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) स्थायी समिति सदस्य रामसिंह श्रीष, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल, रणनीतिक मोर्चाका नेता पूर्ण सिंह, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका संयोजक विश्वभक्त दुलाल (आहुति), राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनी, अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ओम गुरुङले सम्बोधन गरेका थिए।
सभामा विप्लव लगायत चार पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। सभामा कैलाली, कञ्चनपुर, डोटी लगायतका गाउँ गाउँबाट कार्यकर्ता आएका थिए। सभामा प्रभात जनसांस्कृतिक परिवार नेपालले नृत्य प्रस्तुत गरेको थियो। रणनीतिक संयुक्त मोर्चाले यस अघि काठमाडौंमा सरकारविरुद्ध माघ २९ गतेदेखि फागुन १८ गतेसम्म संघर्षका कार्यक्रम घोषणा गरे अनुरुप शुक्रवार धनगढीमा सभा आयोजना गरेको हो।
मोर्चामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी रहेका छन ।