
—अमृत वस्ती –
२०५२ साल देखि १० वर्षको जनयुद्ध र त्यसको जगमा भएको २०६२÷०६३ सालको दोस्रो जनआन्दोलन पछिको परिवर्तनले नेपाली जनताले २०७४ सालमा नेपालको नयाँ संविधान पाए । दशकौं देखिको राजनैतिक स्थिरता भोगेका नेपाली जनताले आर्थिक, सामाजिक परिवर्तनका लागि २०७४ सालको आम चुनावमा दुई ठूला कम्युनिष्ट पार्टीका एकल उमेद्वारहरुलाई विजय गराउदै वर्षौ देखिको परिवर्तनको तिर्खा केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले मेटाउँछ भन्ने आश गरेका थिए । चुनावी नतिजा संगै आफूलाई जनताको नोकर संझेर गम्भीर हुनु पर्नेमा केपी शर्मा ओली र नेकपाका नेताहरु आफूलाई राजा महाराजा ठान्न थाले । जनताको आधारभूत आवश्यकताहरुलाई नजरअन्दाज गर्दै रेल, पानीजहाज, घरघरमा ग्यास जस्ता नाराहरुले गरिव र सिमान्तकृत जनताहरुको दुःखको घाउमा नुनचुक छर्ने काम गरिरहे ।
सरकार बनेदेखिको घरझगडा केपी शर्मा ओलीको सन्कि ब्यवहार असंबैधानिक संसद विघटन सम्म आईपुग्यो । संविधानमा हुदै नभएको धाराको आडमा संसद विघटनको बाटोलिएका प्रधानमन्त्री केपी शर्मा ओली सम्मानित अदालतले संसद विघटन असंबैधानिक रहेको ब्यहोराको फैसला आई सक्दा पनि अझै प्रधानमन्त्रीको कुर्सीमा विराजमान छन् र अझै सत्ता जोगाउने दौडमा रहेका छन् । जनताका प्रतिनिधिहरुलाई भेडा वाख्रा झै ब्यवहार गरिरहेका छन् । सांसद खरिदविक्रीको घृणित खेल खेल्न लागिपरेका छन् । यो प्रतिनिधसभाको मात्र होईन उनीहरुलाई मत दिने मतदाताहरुको समेत अपमान हो ।
एक कम्युनिष्ट शासक देश र जनता प्रति नैतिकवान हुनु पर्दछ । गल्ति गरिसकेपछि गल्तीको महशुस गर्दै आत्मआलोचना गर्न सक्ने हुनुपर्दछ । तर भविश्यका नयाँ पुस्तालाइै नैतिकताको पाठ पढाउने हाम्रा प्रधानमन्त्री यति नैतिकता गुमाई सक्दापनि अझै सत्तामा रहिरहनको लागि फोहोरी खेलमा लागिरहेका छन् । मतदिने मतदातालाई यो भन्दा अपमान अरु के हुन सक्दछ ?
आजको नेतृत्वले भोलिको युवाहरुलाई मार्गदर्शन गर्नु पर्दछ । उनीहरुलाई राजनीति प्रति आकर्षण गर्न सक्नु पर्दछ । तर देशको कार्यकारी प्रमुखले समेत नैतिकता देखाउन नसक्दा भविश्यका नेतृत्वहरु कस्ता होलान् । देशको कार्यकारी जस्तो ब्यक्तिले नयाँ पिडीको लागि आईकन बन्न सक्नु पर्ने हो ।
हामीले यहाँ चर्चा गनु पर्ने अर्को कुरा भनेको पार्टीका युवा कार्यकर्ताहरु हो, जसले आफ्नो नेताको जस्तो सुकै कदममा पनि हो मा हो मिलाईरहेका हुन्छन् । आफ्नो नेतृत्वले विवेक गुमाउदा त्यसलाई सहि दिशामा ल्याउन पहल गर्ने भनेको कार्यकर्ताहरुले हो । तर हाम्रो पार्टी पद्दतिमा यस्तो हुन सकेको छैन । आफ्नो पार्टी, त्यसमा पनि आफ्नो गुटको नेताले भनेको जस्तो सुकै कुराको पनि समर्थन गर्ने र तर्क कुतर्कले पुष्टि गर्ने कार्यले झनै हाम्रा नेताहरुले नैतिकता गुमाईरहेका छन् । पार्टीमा नै लोकतन्त्र, प्रजातन्त्रको अभ्यास हुन नसक्दा त्यसले समग्र देशको राजनीतिलाई नै धमिलो बनाईरहेको छ ।
पछिल्लो पटक नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उनमा म नै सत्ता हुँ भन्ने भावनाको विकास भएको छ । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीको पाईला पछ्याईरहेका हाम्रा प्रधानमन्त्रीले देशको राजनीतिलाई दिन दिनै अराजकता तर्फ डोराईरहेका छन् ।
हिजो आफ्नो पार्टीले ल्याएको चुनावी घोषणापत्रको कुनै एक बुँदा समेत कार्यन्वयन हुन सकेको छैन । जनताको दैनिकीलाई सहज सरल हुने एक काम हुन सकेको छैन । रेल, पानी जहाज, सुरुङ्ग जस्ता हावादारी गफ बाहेक गेम चेन्जरको रुपमा रहेको कुनै भौतिक पुर्वाधारका कार्यक्रमहरुको घोषणा हुन सकेको छैन । असंबैधानिक रुपमा संसद विघटन गरिसकेपछि कामचलाउ सरकारको रुपमा परिवर्तन भएको सरकारका मन्त्रीहरु काम सुरु भैसकेको पुर्वाधार योजनाका कार्यहरुको सिलान्यास गर्नु बाहेक कुनै काम गर्न सकेका छैनन् । तैपनि मैले यो यो कारणले काम गर्न सकिन पनि नभनि जनता संग क्षमा याचना गर्नुको साटो प्रधानमन्त्री र उनका सल्लाहाकारहरु नै सामाजिक संजाल देखि मिडियाहरुमा उभिएका छन् ।
राजनीति भनेको देश र जनताको लागि गर्ने हो । उनीहरुको सुनौलो भविश्यको लागि गर्ने हो । जनताको दुःख सुखमा साथ दिन हो । जनताको दैनिकी संग राजनैतिक नेतृत्व सधै जोडिनु पर्दछ । प्रधानमन्त्रीको नजिकको मन्त्रीले घुसको मोलमोलाई गर्दै गरेको अडियो सार्वजनिक हुदा उसलाई तत्काल निलम्बन गरि छानविन गर्ने हो । तर यहाँ प्रधानमन्त्री स्वंय उनकको बचाउमा बोल्दछन् । कोरोनाकाल जस्तो संबेदनशील समयमा समेत मेडिकल सामाग्री खरिदमा समेत भ्रष्टाचारको गन्ध आउँदा प्रधानमन्त्री आफैले छानविन र कारवाहीको लागि अग्रसर हुनु पर्नेमा प्रधानमन्त्री बचाउमा लाग्दछन् । यस्ता नेतृत्वबाट हामी नेपाली सासित हुन भनेको हाम्रो लज्जाको विषय हो ।
नेपाली समाज हामी आफै पनि यस्तो विषयमा संबेदनशील छैनौं । हामी प्रत्येक नेपाली नैतिकतामा बाँधिन सकेका छैनौं । यस्तो दुषित समाजबाट हामीले धेरै नैतिकवान नेतृत्व खोज्नु हाम्रो मुर्खता हुन सक्छ तथापी देशको प्रमुख कार्यकारी नै यति निर्लज्ज नैतिकहिन हुने कुराको स्वकारोक्ति हुन सक्दैन । यसले हाम्रो वर्तमान त अधेरो नै बनाईदिएको नै छ यसले हाम्रा आगामी पुस्तौ पुस्तालाई समेत अध्यारो भविश्यतर्फ अग्रसर गरेको छ । यस्तो संबेदनशील विषयमा हामी स्वंय जनता नै चनाखो भई उनीहरुलाई र्नैतिकवान बन्न आआफ्नो ठाँउबाट दबाब दिउँ । देश, हाम्रा सन्ततीको भविश्य अध्यारो बन्नबाट रोकौं ।