रुपन्देही : मोतीपुर औद्योगिक करिडोर शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सहभागी कार्यक्रम स्थानीयवासीले बिथोलेका छन् । अर्थमन्त्री पौडेलले मञ्चमा उभिएर बोल्दै गर्दा स्थानीयवासीले आक्रमण गरेपछि कार्यक्रम बिथोलिएको हो । स्थानीयवासीको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले हिजोदेखि नै विरोध प्रदर्शन गर्दै आएका थिए। सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सुरु गरिएको थियो । अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका थिए।

मन्तव्य दिन सुरु मात्र गरेका अर्थमन्त्री पौडेल तोडफोड हुन थालेपछि मञ्च छाडेर हिँडेको प्रहरीले जानकारी दिएको छ । शिलान्यासका लागि तयार गरिएको मञ्च हिजो स्थानीयवासीले भत्काइदिएका थिए । आज फेरि प्रहरीको कडा सुरक्षा घेरामा मञ्च तयार गरिएको थियो। रूपन्देहीमा सरकारले १ हजार बिघाको करिडोर निर्माण अभियान थालेको र करिडोर निर्माण गर्दा ४ सय घरपरिवार विस्थापित हुने भएपछि स्थानीयवासी विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !