
काठमाडौँ : सरकारले अहिलेसम्म १८ लाख ३५ हजारलाई कोरोना विरुद्धको खोप लगाइसकेको छ । अहिले उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा खोप कार्यक्रम जारी छ । मन्त्रालयबाट प्राप्त विवरणअनुसार नेपालमा अहिलेसम्म कूल ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको छ । सहप्रवक्ता डा अधिकारीले झण्डै १४ लाख मात्रा खोप स्टक रहेको र केही आउने क्रममा रहेको जानकारी दिनुभयो ।
आगामी वैशाख ७ गतेपछि भने शुरुआती चरणमा (माघ १४ गतेदेखि) खोप लगाएका व्यक्तिका लागि दोस्रो चरणको खोप लगाइने छ । पहिलो चरणमा माघ १४ बाट फागुन १० सम्म खोप लिएका दोस्रो चरणमा सहभागी हुनेछन् । त्यसबेला चार लाख ३९ हजारलाई खोप लगाइएको थियो । दोस्रो चराणको खोप उनीहरुलाई नै लगाइने छ । उनीहरु सबै कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभावमा खटिएर काम गर्ने व्यक्ति हुन् ।
जुन ठाउँबाट खोप लगाइएको थियो, कार्ड लिएर त्यही ठाउँमा गएर खोप लगाउन सरकारले अनुरोध गरेको छ । नेपाललाई शुरुमा भारतले १० लाख मात्रा कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । त्यसपछि चीनले आठ लाख मात्रा भेरोसिल खोप दिएको थियो । कोभ्याक्स सुविधाबाट तीन लाख ४८ हजार मात्रा खोप आएको थियो । नेपाली सेनाले पनि एक लाख मात्रा ल्याएको छ ।