तनहुँ : व्यास नगरपालिका–१० स्थित चिसापानी देवीडाँडा बृहत लिफ्टिङ खानेपानी आयोजनाको निर्माण शुरु भएको छ । त्यस क्षेत्रका बासिन्दाले खानेपानीको चर्को समस्या झेल्दै आएको हुँदा त्यसलाई दृष्टिगत गर्दै सङ्घीय सरकारको रु तीन करोड विनियोजन गरेपछि निर्माण कार्य अघि बढाइएको हो ।

व्यास–९, १० र ११ को सिमानामा पर्ने चिसापानीबाट पानी ल्याएर लिफ्टिङ गर्न लागिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । लिफ्टिङ गरिएको पानी सङ्कलन गर्नका लागि देवीडाँडामा पाँच लाख लिटर क्षमताको भण्डारण ट्याङ्की निर्माण कार्य थालिएको उहाँले बताउनुभयो । चिसापानीबाट करीब एक हजार २०० मिटर दूरीबाट पाइपमा ल्याइएको पानीलाई देवीडाँडासम्म लैजानका लागि करीब २६५ मिटर उचाइमा लिफ्ट गरिने उहाँले बताउनुभयो ।

देवीडाँडामा भण्डारण ट्याङ्की निर्माण गरेपछि बस्तीअनुसारको आठवटा शाखा ट्याङ्की निर्माण गरेर पानी वितरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । सो आयोजना सम्पन्नपश्चात् त्यस वडाका अँधेरीभञ्ज्याङ, दुम्सीकोट, दुम्सीचौर, बरचौर, शीतल गुफा, नयाँ बस्तीलगायतका करीब एक हजार ५०० घरधुरी प्रत्यक्ष लाभान्वित हुनेछ ।

सो आयोजनाको निर्माणका लागि ग्यालेक्सी कन्सट्रक्सन प्रालि चितवनले जिम्मा पाएको छ । दुई वर्षीय योजना रहेकाले विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजना सम्पन्नपश्चात् त्यस क्षेत्रका बासिन्दाले प्रशस्त मात्रामा पानीको प्रयोग गर्न पाउने गरी आयोजनाको कार्य अघि बढाइएको छ । दुम्सीचौर टोल विकास संस्थाका अध्यक्ष चेतबहादुर दरैले पानीको साह्रै दुःख भोग्नुपरेको गुनासो पोख्नुभयो । आयोजना सम्पन्नपछि पानीको समस्या समाधान हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !