काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । २०७२ को भूकम्पले ढालेको धरहरा ठडिएसँगै ओलीले उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात प्रधानमन्त्री ओली धरहरा चढेका छन् । उनले धरहराको बालकोनीबाट पुष्प वृष्टि गरी वरपरकाे दृश्यावलोकन समेत गरे । तर हालसम्मपनि धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु भने सकिएको छैन ।

भूकम्प गएको ६ वर्ष पुगे पनि पुनर्निर्माणमा विवाद भएपछि २०७५ मा मात्रै धरहराको पुनर्निर्माण सुरु भएको थियो। स्तम्भ तयार गर्न र सुनको गजुरसमेत राखेको गरी हालसम्म ३ अर्ब ४८ करोड बजेट खर्च भइसकेको छ। धरहराको टावरको काम पूरा भए पनि बाहिरी संरचनाको काम सम्पन्न हुन अझै ९ महिना लाग्ने प्राधिकरण जनाएको छ ।

पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै २२ तले नयाँ धरहरा पुनर्निर्माण गरिएकाे छ । पुनर्निर्माण सम्पन्न भएको धरहरामा ३३० किलोको गजुर राखिएको छ । मंगलधुन र स्वस्तिक वाचनसहित गत बुधबार बिहान ८ बजेको साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीसहितको सहभागितामा गजुर राखिएको हो । गजुर तामाबाट बनेको र बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । ‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !