दीपक खनाल

प्रेस (पत्रकार÷पत्रकारिता) लाई राज्यको चौँथो अङ्ग मानिन्छ । राज्यका तीन अङ्ग (कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका) लाई चेक एन्ड ब्यालेन्स गर्नसक्ने तागत हुने भएकाले यसलाई चाँैथो अङ्ग मानिएको हो । प्रेसलाई ‘चौँथो अङ्ग’ भन्ने पहिलो व्यक्ति १९ औँ शताब्दीका चर्चित लेखक तथा इतिहासकार थोमस कार्लाइल (Thomas Carlyle हुन् । यद्यपि उनले बेलायतका राजनीतिक विश्लेषक एडमण्ड बर्क {(Edmund Burke) ले आफ्नो पुस्तक Reflection on the revolution in France मा संसद्को चौँथो (पत्रकार) दीर्घामा बसेको अङ्गलाई अन्य अङ्गभन्दा महत्वपूर्ण भनी उल्लेख गरेका थिए । थोमसको लेखाइ र एडमण्डको प्रचारपछि नै विश्वमा प्रेस (पत्रकार÷पत्रकारिता) लाई चौँथो अङ्गको उपाधि दिइएको हो । कानुनी लिखित दस्तावेजमा कहीँकतै उल्लेख नभए पनि आज लोकतान्त्रिक मुलुकहरूले पत्रकारलाई चौँथो अङ्गका रूपमा बुझ्दै, व्यवहार गर्दै आएका छन् । यो परम्परा नेपालमा पनि अद्यावधि छ ।

अङ्ग्रेजी शब्दकोशमा पत्रकारको परिभाषा दिँदै लेखिएको छ –– …A person who writes for newspapers or magazines or news to be broadcast on radio or television.

नेपाली बृहत् शब्दकोशअनुसार समाचार, लेख÷रचना आदिको सङ्कलन, सम्पादन तथा प्रकाशन गर्ने व्यक्ति वा पत्रपत्रिकाको काम गर्ने व्यक्तिलाई पत्रकार भनिन्छ । पत्रकारकै सन्दर्भमा नेपोलियन बोनापार्टको भनाइ छ–‘पत्रकार आरोपी, समालोचक, सल्लाहकार, वादशाहका प्रतिनिधि र राष्ट्रका सेवक हुन् । चार विरोधी पत्रिका चार हजार सेना भन्दा पनि डरलाग्दा हुन्छन् ।’

हामी पनि भन्न सक्छौँ कि शब्दको गिट्टी फुटाएर दैनिक हातमुख जोर्ने व्यक्ति मात्र ‘पत्रकार’ हो । अझ गहिराइमा गएर भन्दा शब्द, श्रव्य, श्रव्य–दृश्यको ‘आर्किटेक’ गर्नसक्ने ‘शिल्पकार’ नै पत्रकार हो । तर प्रेस काउन्सिल नेपालद्वारा जारी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) र नेपाल पत्रकार महासंघको विधानले भने नेपालको सन्दर्भमा ठूलो क्षेत्रलाई पत्रकार भनी परिभाषित गरेको छ । उक्त परिभाषाअनुसार समाचार सामग्री सङ्कलक, उत्पादक, सम्पादक, प्रधानसम्पादक, संवाददाता, स्ट्रिञ्जर, समाचारवाचक, कार्यक्रम निर्देशक, अनुवादक, साजसज्जा, प्राविधिक, स्तम्भ लेखक, फोटो पत्रकार, प्रेस क्यामेरापर्सन, व्यङ्य चित्रकार, कार्यक्रम निर्माता वा सञ्चालक, दृश्य वा भाषा सम्पादक,, समाचारमूलक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्वतन्त्र पत्रकारहरू पत्रकार हुन् । यही परिभाषाभित्र सीमित गर्दा पनि नेपालको १३ हजारको ‘ग्याङ्ग’ सबैलाई पत्रकार भन्न सकिदैँन । यिनै ‘ग्याङ्ग’ बढी भएको पत्रकार महासंघलाई झन् के महासंघ भन्ने ? यसका भारी गैरसदस्यलाई के पदावलीले सम्बोधन गर्ने ? धर्मसंकट छ, मनोवैज्ञानिक समस्या छ । तर जे भए पनि अहिलेको अवस्थामा ‘गोबरै गोबर’ को डङ्गुरमै कुल्चेर हिड्नुपर्ने अवस्था छ । विद्यमान यही अवस्थाकै पेरिफेरीमा रहेरै यसभित्रका कतिपय फोहोरमैलाका बारेमा चर्चा परिचर्चा गर्नैपर्ने भएको छ ।

यिनै ‘ग्याङ्ग’ को मतदानमा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन गएको चैत्र २५ गते सम्पन्न भयो । यसपटकको महाधिवेशन विगतका भन्दा ऐतिहासिक रह्यो । ऐतिहासिक यस मानेमा कि यो पहिलोपटक भएको प्रत्यक्ष निर्वाचन थियो । देशभरि एकैदिन संघ, प्रदेश र जिल्लाका महासंघमा निर्वाचन हुँदा संसद् (प्रतिनिधिसभा) निर्वाचनजस्तो झल्को आएको थियो । निर्वाचनमा आएको परिणाम अपेक्षित नै थियो । संघ, प्रदेश र जिल्ला महासंघकै गठबन्धनले धेरै नै प्रतिशत विजय हासिल ग¥यो । किनकि नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन, माओवादी केन्द्रनिकट प्रेस संगठन नेपाल, माधव नेपाल एमालेनिकट प्रेस चौतारी र अन्य स–साना समूह मिलेकाले परिणाम विपुल पोखरेल प्यानलको पक्षमा आउनेमा सायदै आशङ्का थियो । त्यसैले जे जसरी भए पनि आएको परिणामलाई स्वीकार्दै गल्ती कमजोरी सच्याएर अघि बढ्नु नै यतिबेलाको मूल प्रश्न हो ।

अरुलाई प्रश्नै प्रश्न सोध्ने पत्रकारिता क्षेत्रमै विभिन्न प्रश्न गर्नसकिने ठाउँहरू छन् । र, पनि पत्रकारका विषयमा उठ्ने र उठाउँदै आएका प्रश्नहरू भने अझै अनुत्तरित छन् । पत्रकारहरूबीच नै एकता छैन भन्दा अत्युक्ति हुँदैन । पत्रकार महासंघहरू बाँसको झ्याङजस्ता छन् । बाहिरबाट हेर्दा सिङ्गो झ्याङजस्तो भित्र गएर हेर्दा एउटा एउटा मात्र रुख । विभिन्न बिटका नाममा बाँडिएका÷विभाजित भएका छन् पत्रकारहरू । यस्तालाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । लगानीको आधारमा सरकारी र गैरसरकारी पत्रकार छन् । सरकारीभित्र रासस, गोरखापत्र, रेडियो नेपाल, नेपाल टेलिभिजन, राइजिङ नेपालका पत्रकार छन् । निजीभित्र निजी लगानीका पत्रकार छन् । यसमा पनि ठूलो लगानीका हौँ भन्ने पत्रकार त्यसै त्यसै नाक फुलाएर भ्रममा बाँचिरहेका हुन्छन्, मालिकको मालदाम्लोमा नाचिरहेका हुन्छन् । सानो लगानीका मिडियालाई पत्रकार वा मिडिया नै गन्दैनन् । सरकारी पत्रकार सरकारका कर्मचारीजस्तै हुन् । उनीहरूमा सरकारी समाचार अलिकति पनि तलमाथि गर्न सक्ने स्वतन्त्रता हुँदैन । त्यसैले यी सरकारप्रति नै बफादार छन् । यिनीहरूलाई सरकारको इमान्दार कार्यकर्ता भन्दा हुन्छ ।

विटअनुसार बाँडिने र भाँडिने पत्रकारको हालत यस्तै हो । राजनीतिक, आर्थिक, खेलकूद, कुटनीति, स्वास्थ्य, अपराध (सेना÷प्रहरी), पर्यटन, महिला तथा बालबालिका, बिमा, शेयर, सञ्चार, वन, आदि विट समात्ने थुप्रै पत्रकार छन् । समाचारकै निम्ति यसरी विभिन्न क्षेत्रमा बाँडिनु त राम्रो हो । यो नै हो व्यावसायिक पत्रकारिताको सौन्दर्य । तर अधिकांश पत्रकारलाई यस्तो सोचभन्दा पनि आफूलाई कसरी फाइदा उठ्छ, स्वार्थ पूर्ति हुन्छ भन्ने मानसिकताले घर गरेको छ । राजनीतिक बिटको पत्रकार राजनीतिक सम्बन्ध मिलाएपछि विभिन्न नियुक्तिमा लिप्त हुन्छ । यस्ता केही पत्रकारले सल्लाहाकार, संसद सचिवदेखि विभिन्न निकायमा नियुक्ति पड्काएका छन् । उनीहरूका लागि राजनीतिक नियुक्ति खाने भ¥याङ बन्ने गरेको छ । अन्य विटका धेरै पत्रकारले तत् तत् विटमा पत्रकार संगठन खोलेर पहुँच बढाएका छन् । आफ्नै क्षेत्रमा नियुक्ति मात्र हैन तत क्षेत्रका प्रोजेक्ट, फेलोसिप, विदेश भ्रमण, पुरस्कार, सम्मान हात पारेका छन् ।

अपराध बिटका कतिपय पत्रकार सेना, प्रहरीसँगै मिलेर विदेश घुम्ने, ठेक्कापट्टामा समेत आफ्नो भाग लिनेसम्मका कार्य गर्न पछि परेका छैनन् । जबकि पत्रकार आचारसंहिताले उल्लिखित कुनै कार्य गर्न छुट दिँदैन । स्रोतसँग अनुचित फाइदा लिएर ‘समाचार मार्नु’ अपराध नै हो । कुरा गरिसाध्ये छैन । जुन क्षेत्रमा हेरे पनि यस्तैले फाइदा कुम्ल्याएका छन् । शेयरसम्बन्धी समाचार लेख्ने पत्रकार शेयरमा रहेका कम्पनीलाई प्रभाव पार्ने ढङ्गले समाचार दिँदोरहेछ, जसका कारण ग्राहकमा भ्रम पर्छ, यसले बजारभाउ नै तलमाथि पार्दोरहेछ । कुटनीतिक विटका कतिपय केही पत्रकार दाता, निकायसँग चोचोमोचो मिलाएर घुम्ने, फेलोसिपमा पढ्न, छोराछोरी आफन्त पठाउनेसम्म गर्दारहेछन् । यसरी जता हेरे पनि पत्रकारिता बिटमा समेत प्रश्नै प्रश्न छ । यी त केही उदाहरण मात्र हुन् । गर्न नसक्ने पत्रकार पलायन हुन बाध्य छन् । यसको छानबिन गर्ने कसले ः चौँथो अङ्ग पत्रकारिता नै चुत्थो अङ्ग भएपछि ? मिडिया मालिक नै कसै न कसैका मतियार र हतियार भएपछि ?

समाजको शिक्षक नै ठानिने पत्रकार अरुलाई प्रश्न गर्न माहिर हुन्छ । विभिन्न विषयमा प्रश्न सोधेर आच्छु आच्छु पार्छ । कतिपय सन्दर्भमा प्रश्न सोध्ने ढङ्ग नपुग्दा स्टुडियोबाट अतिथि उठेर गएका उदाहरणहरू छन् । तर यसरी प्रश्न गर्ने पत्रकारलाई यी यक्ष प्रश्नहरू कस्ले सोध्ने ः अहिले पनि महासंघमा किन गैरपत्रकारहरू हावी भएका हुन् भनेर ? अरुलाई पारदर्शिताको आदेश दिने पत्रकार आफैँ किन अपारदर्शी भनेर ? कि आफ्ना कमीकमजोरी बाहिर ल्याउनहुन्न भनेर हो ? सबैलाई इमान्दारिताको उपदेश दिने पत्रकार आफू चाहिँ किन अइमान्दार भनेर ? पत्रकार तिमी कति आय गर्छौ भनेर ?, तिम्रो कमाई न्युन भए पनि सुटेटबुटेट र रवाफिलो जीवनयापनको श्रोत के हो भनेर ?, तिमीलाई दूतावासतिरबाट ‘अन्नपानी’ आउँछ भन्ने आरोप छ, वास्तविक के हो भनेर ?, तिमीले घर कसरी किन्यौ भनेर ?, जग्गा किनेर घर समेत कसरी बनायौ भनेर ?, पुख्र्यौली सम्पत्तिले हो कि तिम्रै कमाइले हो भनेर ? यी प्रश्न उत्तर कसका सामु दिन्छौ भनेर ? आत्मा छोएर भन त तिमीले निजी स्वार्थमा समाचार ‘किल’ गरेका छौ कि छैनौ भनेर ?

तिमी राजनीतिक दलको खाँटी कार्यकर्ता हौ कि होइनौ भनेर ?, कुनै व्यक्तिले नियुक्ति पाउँदा, चुनाव जित्दा, बढुवा, सरुवा हुँदा तिमीलाई किन बधाइ दिन हतारो हुन्छ भनेर ? किन लालयित हुन्छौ दोसल्ला ओढ्न, जसका जस्ता पनि पुरस्कार र सम्मान थाप्न भनेर ? पत्रकारको आवरणमा अनेक फाइदा लिएका छौ कि छैनौ भनेर ?, जग्गा दलाली, मानवतस्करीजस्ता पेसामा तिम्रो लगानी छ कि छैन भनेर ?, अरुलाई लाखौँ राशिका पुरस्कार बाँड्ने रकम कहाँबाट बर्सन्छ तिमीलाई, कसले प्रायोजना गर्छ तिम्रो संस्थालाई भनेर ?, हावाको भरमा समाचार दिँदा दुनियाँको घरबार बिग्रेको छैन, गोपनीयताको मौलिक अधिकार खोसिएको छैन भनेर ? फेसबुकजस्ता सामाजिक सञ्जालबाट नेताले चुनावी नारा लगाउँदा, भ्वाइस प्रचार गर्दा तिमीले औँला ठड्याएका थियौँ । हालैको तिम्रै महासंघको चुनावमा त्यसरी नै विज्ञापन गर्दा नेतालाई गाली गरेर लेखेको आफ्नै समाचार सम्झिएनौ र भनेर ?, आफ्नै नैतिकतामाथि प्रश्न गरेनौ र भनेर ?, संसदीय चुनावमा नेताले जाडरक्सी, मासु बाँड्यौ भनेर आलोचना गरेका थियौ । आफ्नै निर्वाचनमा तिमीले चाहिँ कति खर्च ग¥यौ, सार्वजनिक गर्न पर्दैन भनेर ?, कति क्वीन्टल वियर, विभिन्न ब्राण्डको ह्विस्की खुवायौ भनेर ?, अहिलेसम्म कलम, कापी र क्यामराको दुरुपयोग गरेर आफू, आफन्त या कसैको नाजायज काम गराएको छैन भनेर ?

प्रश्न सोध्ने कसले ?

पत्रकारलाई प्रश्न सोध्ने तागत अरु कसैमा हुँदैन÷छैन । सर्वसाधारण ‘अडियन्स’ त पत्रकार र मिडियालाई अर्कै ग्रहको भगवान्जस्तै ठान्दछन् । उनीहरूमा यसरी प्रश्न गर्ने आँट र ज्ञान सायदै छ । सरकार र राजनीतिक दल तथा अन्य विभिन्न संघ÷संगठनका नेता÷प्रतिनिधिमा यस्तो ह्याउ, ल्याकत हुँदैन किनकि उनीहरू पनि कहीँ न कहीँ बिकेका हुन्छन् । कमजोरी गरिसकेका हुन्छन्, नैतिक रुपमा गिरिसकेका छन् । शिर ठाडो र आँत दह्रो पारेर उनीहरूलाई यस्ता अनाडी प्रश्न सोध्ने तागत÷अधिकार प्रेस काउन्सिल नेपाललाई मात्र छ । काउन्सिलले केही हदसम्म मिडियालाई प्रश्न उठाएको छ, मात्र आचारसंहिताको विषयमा । परेका उजूरी र केही स्वअनुगमनका आधारमा मिडियालाई मात्र यति प्रश्न उठाए पनि काउन्सिलले यस्ता पत्रकारलाई नै प्रश्न सोध्न सकेको छैन यस्ता विषयमा । त्यसैले माथि उल्लिखित सबै प्रश्नको जवाफ दिनुभन्दा अगाडि कि त पत्रकारले यसरी प्रश्न आउने वातावरण नै सिर्जना गर्नुहुँदैन । कि त आफै इमान्दार भएर यी प्रश्नहरूको जवाफ दिनुपर्छ । हैन भने अब प्रेस काउन्सिल नेपालले आम पत्रकारसँग यस्ता अनाडी प्रश्नहरूको जवाफ माग्नु नितान्त आवश्यक छ ।

अन्त्यमा बिबिसी पत्रकार जेरेमी प्याक्सम्यानको एउटा भनाइ छ–‘पत्रकारहरू अप्ठेरो समूहका सदस्य हुन् । उनीहरू माया गरिन वा प्रसिद्ध हुन् कहीँ गएका होइनन्, तर कसैले उत्तर दिन नचाहेका विषयमा प्रश्न सोध्न गएका हुन् ।’
र, जेरेमीको उल्लिखित भनाइका साथ एउटा अर्काे प्रश्न ः साँच्चै हो त नेपाली पत्रकार महोदयहरू ! तपाईँहरू अरुलाई मात्र प्रश्न सोध्न जानुभएको हो !? आफूलाई पनि प्रश्न गर्ने कोही छन् भन्ने हेक्का छ कि छैन हजुरहरूलाई ? तामा र तुलसी छोएर भन्न सक्नुहुन्छ ?

प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत(प्रवक्ता) खनाल स्वतन्त्र पत्रकार समेत हुन् ।

प्रतिक्रिया दिनुहोस !