
गण्डकी प्रदेशमा आज दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा पोखरा महानगरपालिका–६ का ८२ वर्षीया सङ्क्रमित महिलाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको हिजो राति १२ः४५ बजे मणिपाल अस्पतालमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । यीसँगै प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२३ पुगेको छ ।
थपिए तीनको मृत्यु
भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ सङ्क्रमित छन् ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार गए राति थप तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् । बिहीबार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका नौ, कैलालीका दुई र बर्दियाका एक जनाको मृत्यु भएको हो ।
भरतपुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु
भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ४८ वर्षीय र देवचुली नगरपालिका–१६ का ४७ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार भरतपुरका पुरुष मिर्गौलामा समस्या भई यही वैशाख १२ गते अस्पताल भर्ना भएका थिए । उनमा १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
यस्तै नवलपारसीको देवचुलीका पुरुषको पनि आजै मृत्यु भएको छ । बाटोमा हिँड्दा लडी घाइते भएर उपचारका लागि वैशाख १२ गते अस्पताल आएका उनमा १३ गते कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको हो ।
–––
–––