मकवानपुर : वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मृत्यु हुनेमा प्रदेशसभा सदस्य एवं एमाले नेता पशुपति चौलागाईंसहित काठमाडौँमा मात्र ११ महिला र सात पुरुष गरी कूल १८ जनाको मृत्यु भएको हो । त्यस्तै मन्त्रालयका अनुसार ललितपुरका चार, भक्तपुरका तीन, चितवन, दोलखा र सिन्धुलीमा क्रमशः दुई/दुई, रसुवा, रामेछाप र सिन्धुपाल्चोकका क्रमशः एक/एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो ।

वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा चार हजार ६५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि हुनेमा काठमाडौँ दुई हजार ७८८, ललितपुरका ६०२, भक्तपुरका ५३७, रसुवाका एक, नुवाकोटका ७३, धादिङका ११५, चितवनका १२४, सिन्धुलीका ४७, मकवानपुरका ११६, रामेछाप २४, दोलखाका १५, काभ्रे १५५ र सिन्धुपाल्चोकका ५८ जना छन् ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५३ हजार ३७५ जना छन् । तीमध्ये संस्थागत आइसोलेशनमा दुई हजार ४८१, विभिन्न अस्पतालले सञ्चालन गरेको एचडियूमा ३७८, आइसियूमा ६९८, भेन्टिलेटरमा २२० उपचाररत रहेका छन् भने ४९ हजार ५९८ सङ्क्रमितहरू होम आइसोलेशन बस्दै आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विभिन्न अस्पतालमा आठ सङ्क्रमितको मृत्यु

चितवन : जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः०० बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाका कारण यह िवैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः२६ बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः५९ बजे मृत्यु भएको हो ।

सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः३९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५३ बजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति ११ः५ बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति १०ः३० वजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि समन्वय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !