काठमाडौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको निर्णायक वार्ता सकारात्मक भएपछि पार्टी विभाजनबाट जोगिएकोे छ । बूढानीलकण्ठमा भएको वार्तामा सबै विवाद आपसमा बसेर कार्यदलमार्फत टुङ्गो लगाउँदै जाने समझदारी भएको नेता नेपालले सञ्चारकर्मीलाई बताउनुभयो ।

प्रधानमन्त्री ओलीसँगका भेटपछि प्रफुल्ल मुद्रामा बाहिरिनुभएका नेता नेपालले आफूहरु अनुपस्थित गत फागुन २८ को केन्द्रीय कमिटीका निर्णय फिर्ता गर्न र २०७५ जेठ २ गतेका अवस्थाका स्थितिमा पार्टीलाई फर्काउन छलफल जारी राख्ने कुरा भएको स्पष्ट गर्नुभयो । तपाईँहरुको राजीनामा अब रोकिएको हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘‘अब मिल्ने दिशामा अगाडि बढेको छ । कार्यदल बन्छ । सहमतिका आधारमा टुङ्गो लाग्छ ।’’ अध्यक्ष ओलीसँग कुरा नमिले नयाँ सरकार बनाउन नेपाली काँग्रेसलगायत विपक्षीलाई सहयोग मिल्ने गरी नेपाल पक्षका केही सांसदले आजै राजीनामा दिने तयारी गरेका थिए ।

आजै सम्पन्न एमाले स्थायी कमिटीको बैठकले नेपालसहित भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथि यसअघि गरिएको निलम्बनको कारवाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो । नयाँ सरकार गठन र पार्टीभित्रको विवाद व्यवस्थापनलगायत विषयमा छलफल गरी स्थायी कमिटीले निकासका लागि उपयुक्त निर्णय लिन अध्यक्ष ओलीलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुईभन्दा बढी दलका समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आज राति ९ बजेसम्मका लागि समय दिनुभएको छ । नेपालसहितका २८ सांसद सोमबारको अधिवेशनमा अनुपस्थित भएपछि विवाद नयाँ मोडमा पुगेको थियो । नयाँ सरकार गठनमा विपक्षी गठबन्धनलाई मत सहयोग पुग्ने गरी नेपाल पक्षका सांसदले राजीनामा दिने तयारीसमेत भएकामा नेताहरुको संवादसँगै अब उक्त कदम नहुने देखिएको छ ।

यही वैशाख ८ गते सत्तारुढ एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको थियो ।

सरकारको नेतृत्व गरिरहेको संसद्को ठूलो दलका शीर्ष तहमा सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभाको पुनःस्थापना तथा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकतालाई पूर्ववतावस्थामा फर्काइ दिएपछि चरम विवाद उत्पन्न भएको थियो । माओवादी केन्द्रसँगको २०७५ जेठ ३ गतेको एकतापूर्वको अवस्था उत्पन्न भएपछि एमालेका अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटीको विशेष बैठकबाट भएका निर्णयमा नेता नेपाल र झलनाथ खनाल पक्षले असन्तुष्टि जनाउँदै समानान्तर गतिविधि गर्दै आएको थियो । दुवै पक्षबीच समूहगतरुपमा गत चैत २ गते पार्टीको कन्द्रीय कार्यालय धूम्रबाराहीमा छलफल भए पनि कुनै सहमति भएको थिएन ।

पार्टीविरोधी गतिविधि गरेका आरोपमा ती नेतालाई पार्टीले छ महिनाका लागि निलम्बन गरेको थियो भने उहाँहरूसहित २७ सङ्घीय सांसदलाई प्रतिनिधिसभा सदस्यका हैसियतमा थप स्पष्टीकरण सोधिएको थियो । एमालेको ह्विप विपरीत ‘फ्लोर क्रस’ गरी कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका प्रदेशसभा सदस्य प्रकाश ज्वालासहित पाँच जनालाई पनि कारपाही भइसकेको छ । दुवै पक्षका दोस्रो तहका नेताले ‘जनताको बहुदलीय जनवाद’ को विचार र सूर्य चिह्नप्रतिको समान निष्ठा भएका नेता–कार्यकर्ताबीच व्यक्तिगत आवेगका आधारमा विभाजन हुन नहुने भएकाले वार्ताको पहल गर्दै आएका थिए । –प्रकाश सिलवाल

प्रतिक्रिया दिनुहोस !