
बुटवल । सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते नवलपरासी पश्चिमका २३ वर्षका युवक अविनाश राजभरको मृत्यु भएको छ । स्थानीय अस्पताल शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी राजु लामाले जानकारी दिए ।
बुधबार बिहान भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका– ५ स्थित नथुई नाका (वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा पाँच–सातजनाको समूहमा जान आएका व्यक्तिलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरूले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए । कोभिड–१९ को जोखिमका कारण रोकेर सोधपुछ गर्न खोज्दा गाउँलेको समूह आएर ढुंगामुढा गरेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए ।
‘भिडलाई नियन्त्रण गर्न सुरुमा अश्रुग्यास प्रहार गरिएको थियो । तर, भिड झनै उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको हो,’ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने । गोली लागेर मृत्यु हुने राजभर प्रतापपुर गाउँपालिका– ६ का हुन् । भिडकाे आक्रमणका कारण नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सइ) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।