–नारायण ढुङ्गाना –
काठमाडौँ: मुलुकमा लगाइएको निषेधाज्ञाका कारण कोभिड¬१९ को सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण उपलब्धी हासिल भएको छ । प्रशासनिक क्षेत्रका अधिकारी तथा स्वास्थ्य विज्ञले यसलाई अझै कडाइका साथ कार्यान्वयन गर्न नसक्दा भने बीचमा केही जटिलता आएको तर नियन्त्रणमा सकारात्मक परिणाम देखिन थालेको जिकिर गरेका छन् । मुलुकमा निषेधाज्ञा शुरु भएको आज एक महिना पुरा हुँदै गर्दा निषेधको आदेश जारी गर्नुपर्ने आवश्यकता अझै बाँकी रहेको छ । तर सही कार्यान्वयनको पनि उत्तिकै जरुरी छ ।

देशमा गएको वैशाख महिनामा कोरोना सङ्क्रमणमा ठूलो उतारचढाव आयो । बीचमा अक्सिजन र त्यसको सिलिण्डर, भेन्टिलेटर, सघन उपचार कक्षको हाहाकार नै भयो । अक्सिजन नपाएर केही सङ्क्रमितको मृत्यु भएको विवरण समेत सार्वजनिक भयो । तर पछिल्लो सममया भने सङ्क्रमण दरमा केही कमी देखिनुमा निषेधाज्ञाको महत्वपूर्ण भूमिका रहेको चिकित्सकहरु बताउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतम निषेधाज्ञाको पूर्ण पालना गरेको भए अहिले सङ्क्रमण दरमा निकै कमी आउने बताउनुहुन्छ । डा गौतम आफुबाहेक सबै सङ्क्रमित हो भन्ने सोचेर सावधानी अपनाउने हो भने नियन्त्रणमा कुनै समस्या नहुने जिकिर गर्नुहुन्छ ।

एक महिना अघि आजैका दिन बाग्लुङ जिल्लाले निश्चित क्षेत्र तोकेर निषेधको आदेश जारी गरेको थियो । त्यहाँको बलेवास्थित नारायणथानको एउटा विद्यालयमा ३९ जना विद्यार्थी र एक शिक्षकमा एक्कासी कोभिड–१९ सङ्क्रमण देखियो । त्यसको जालो च्यात्न भन्दै तत्कालै त्यहाँको स्थानीय प्रशासनले विद्यालय र विद्यालयसँग जोडिएको परिवार बसोबास गर्ने क्षेत्र तोकेर वैशाख ७ गते निषेधको आदेश जारी गरेको गर्यो । सङ्क्रमण रोक्न शुरु भएको निषेधाज्ञा शुरु भएको आज एक महिना पुगेको छ ।

बाग्लुङपछि कालिकोटमा वैशाख ९ गते एक जनामा सङ्क्रमण देखियो । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते थप ४ जनामा देखिएपछि सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै त्यहाँ पनि क्षेत्र तोकेर हिडडुल गर्न नपाउने गरी आदेश जारी गरिएको थियो ।

बुधबार जेठ ६ गतेको तथ्याङकमा आठ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । छ हजार ५४३ जना भने निको भएका छन् । कुल १९० को निधन भएको विवरण सार्वजनिक भएको छ । अघिल्लो महिना वैशाख ६ गते सङ्क्रमित एक हजार २८१ थिए । २५५ निको भएका थिए भने ९ जनाको मृत्यु भएको थियो । तथ्याङ्क हेर्दा मृत्यु र सङ्क्रमण दर एक महिनामा निक्कै बढेको देखिन्छ । तर निको हुने दर वृद्धि हुनु र सङ्क्रमण दरमा पनि केही कमी हुनुलाई सकारात्मक रुपमा लिइएको छ । निषेधाज्ञाले नै सङ्क्रमणको दर सीमित बनाएको दावी जनस्वास्थ्यविद्को छ ।

प्रशासनिक अधिकारी पनि निषेध नगरिएको भए थेग्न नसक्ने गरी बिरामीको चाप अस्पतालमा हुने जिकिर गर्छन् । “निषेधाज्ञा नलाइएको भए बिरामी थेग्नै सकिने थिएन, तर सङ्क्रमण बढिरहेकाले कार्यान्वयन तह अझै बलियो बनाउनुपर्ने देखिन्छ”, काडमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भन्नुहुन्छ । उहाँले अनुगमन गरिररहेको, पक्राउ र कारवाही भइरहे पनि बुझ्नुपर्ने जनताले नबुझिदिँदा समस्या कायमै रहेको बताउनुभयो । सङ्क्रमणले एक्कासी गति लिएपछि काठमाडौँ उपत्यकासहित धेरै जिल्लामा वैशाख १६ गतेबाट भने निषेधाज्ञा लगाउने क्रम एक्कासी बढेको थियो । अहिले मुलुकका ७४ जिल्लामा आदेश जारी भइसकेको छ । मनाङ, खोटाङ र तेह्रथुममा मात्रै आदेश जारी गर्न बाँकी छ ।

उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरथिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ निषेधाज्ञाले सङ्क्रमण रोक्न ठूलो काम गरेको छ भन्नुहुन्छ । श्रेष्ठ थप्नुहुन्छ, “निषेधाज्ञा लगाउनै ढिलाई भएको हुँदा बीचमा ठूलो समस्या आयो, त्यसपछि कार्यान्वयनको तह पनि अलि फितलो भयो, पछिल्लो समयमा आएर मात्रै कडाइका साथ लागू भएको थियो तर पनि पछिल्लो तथ्याङ्क हेर्दा सकारात्मक परिणाम देखिन थालेको छ ।” अझै पनि सङ्क्रमणको जालो च्यात्न भने सकिएको छैन । मुलुकमा नयाँ भेरियन्टसहित दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणमा भइरहेको भारी वृद्धिसँग यसको क्षेत्र पनि विस्तार हुँदै गाउँगाउँमा फैलिरहेको छ । चेतनास्तर कम हुँदा परीक्षण नगराउनेहरु पनि बढ्दो क्रममा रहेको देखिन्छ । शुरुआती चरणमा शहरबजारमा बढी सङ्क्रमित देखिएकामा अहिले भित्र बजार तथा गाउँगाउँमा समेत देखिन थालेकाले जोखिम बढ्दै गएको छ । गाउँमा परीक्षण हुन समेत सकेको छैन ।

सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइसकेको छ । सोही अधिकार प्रयोग गर्दै प्रजिअले आदेश जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै आएका छन् । नेपालमा विसं २०७७ फागुनपछि विस्तारै दोस्रो लहरको सङ्क्रमणले गति लिएको थियो । चैतको अन्तिमसम्म केही सय सङ्क्रमित देखिएकोमा वैशाखको पहिलो साताबाट एक्कासी बढ्न थालेको हो । बीचमा दैनिक झण्डै १० हजार सङ्क्रमित देखिएकोमा अहिले नौ हजारको हाराहारीमा देखिँदै आएका छन् भने निको हुने दरमा वृद्धि भइरहेको छ ।—(रासस)

प्रतिक्रिया दिनुहोस !