काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा ६९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ९९२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ६२६ जना होम आइसोलेसनमा, ७ हजार ८५० संस्थागत आइसोलेन, आईसीयूमा १ हजार ६४५ र ४५७ जना भेन्टिलेटरमा रहेका छन् ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेकाे छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए । कोभिड–१९ बाट थप १०६ जनाले ज्यान गुमाएका छन् ।

बुधबार काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेकोमा बिहीबार पुनः बृद्धि भएको छ । काठमाडौँ जिल्लामा १७३८ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ३६४ तथा भक्तपुरमा २६५ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस !