सुर्खेत : कोरोना भाइरस रोकथामका लागि सुर्खेतमा एक महिनादेखि जारी निषेधाज्ञा पुनः १० दिन थप गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको सुझावका आधारमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले यही जेठ २५ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिनुभएको हो ।

जिल्लामा सङ्क्रमणको दरमा केही कमी देखिएपनि सङ्क्रमणको जालो तोड्न केही समय लाग्ने देखिएकाले निषेधाज्ञाको समय बढाउनुपरेको प्रशासनले जनाएको छ । यसअघि तोकिएको निषेधाज्ञाको अवधि आज राति सकिँदै थियो । प्रजिअ रिजालले निषेधाज्ञाले मानिसहरूको आवागमन, भिडभाड तथा चहलपहल नियन्त्रण भएपछि सङ्क्रमणको ‘चेन बे्रक’ हुन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनस्वास्थ्य सेवा कार्यालयका अनुसार सुर्खेतमा हालसम्म १० हजार बढीमा कोभिड सङ्क्रमण देखिएको छ । यहाँ शुक्रबारसम्म दुई हजार ४०१ कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेश सरकारबाट कोभिड १९ को सङ्क्रमणबाट मृत्यु हुने मृतकका परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएको रु. एक लाख उपलब्ध गराउन अनुरोध गरेको छ । त्यस्तै, बैठकले होम आइसोलेशनमा बसेका सङ्क्रमितलाई आवश्यक मनोसामाजिक परामर्शका गतिविधि सञ्चालन गर्न, पिसिआर नतिजा समयमै उपलब्ध गराउन सम्बन्धित स्थानीय तह र जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।––

प्रतिक्रिया दिनुहोस !