काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ रु खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।

नयाँ संविधान बनिसकेपछि सरकारले पहिलो पटक अध्यादेशमार्फत बजेट ल्याएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको सरकारले बजेटलाई लोकप्रिय बनाउने अधिकतम प्रयास गरेको छ । जसमा वृद्धभत्ता वृद्धिदेखि कर्मचारीको तलव वृद्धिसम्म समावेश भएको छ । कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको छ र सबैभन्दा ठूलो रकम भने शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि अनुमानित खर्च व्यहोर्ने स्रोत व्यवस्थापनका लागि सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड र ६३ अर्ब ३७ करोड वैदेशिक अनुदान व्यहोर्ने र त्यसबाट समेत अपुग ५ खर्ब ५९ अर्ब ३० न्यून हुने देखिने त्यसमा थप ३ खर्ब ९ अर्ब २९ करोड ऋण लिने सरकारले योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस !