
दुल्लू ः जिल्लामा असार १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले असार १० गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । आज राति १२ बजेदेखि असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअ प्याकुरेलले बताउनुभयो ।
यही जेठ २१ ग्तेदेखि जारी निषेधाज्ञा पुनः थप गरिएको हो । दिनहुँ सङ्क्रमितको सङ्ख्या बढदै गइरहेकाले सङ्क्रमण रोकथामका लागि पुनः निषेधाज्ञा थप गरिएको उहाँले बताउनुभयो । अहिलेको निषेधाज्ञामा पहिलेभन्दा थोरै खुकुलो पारिएको छ । दैनिक उपभोग्यवस्तु किनमेल गर्न बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्य पसल खुल्ने छन् । त्यस्तै बैंक पनि खुला रहनेछन् ।
बागलुङमा पाँचौ पटक निषेधाज्ञा जारी
गलकोट ः बागलुङमा पाँचौँ पटक निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा असार ७ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । कोरोना सङ्क्रमणको दर नघटेपछि कोरोना सङ्कट व्यवस्थापन (डिसिसिएसी)को आइतबार बसेको बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्था हप्तामा चार दिन आइतबार, मङ्गलबार, बुधबार र शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
निषेधाज्ञामा अति आवश्यक सेवा खाद्यान्न, तरकारी, दूध, औषधि, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन मल, बीउबिजनबाहेकका सेवाहरू बन्द गरिने भएको छ ।
कोरोनाको सङ्क्रमण तीव्ररूपमा बढेपछि गत वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । सङ्क्रमण दरमा कमी नआएपछि (डिसिसिएमसी) ले जेठ एक गतेदेखि १५ गते, त्यसपछि जेठ २२ गतेसम्म, त्यसपछि पुनः जेठ मसान्त सम्म निषेधाज्ञा थप गरेको थियो ।
–––