बेलायत : नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अत्याधिक मतसहित अर्याल अध्यक्षमा निर्वाचित भए । निर्वाचन समितिले घोषणा गरेको नतिजाअनुसार अध्यक्ष निर्वाचित अर्यालले २६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी श्याम लुईंटेलले १६ मात्र मत पाए । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।

त्यसैगरी, शाखाको वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कंडेलले १० मत मात्र पाए । महासचिव पदमा २७ मत ल्याएर नरेन्द्र बस्नेत विजयी भएका छन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे ।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्य १ भोट बदर भएको थियो । हुलाकबाट मतपत्र पठाएर विदेशमा कुनै पनि नेपाली संस्थाको निर्वाचन गरिएको सम्भवत यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनुहोस !