दमक : दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक–५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिनुभयो ।

दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ । तीमध्ये महिलाको सङ्ख्या ७३२ छ । दमकमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५२ रहेको र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हालसम्म एक हजार १४६ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६४ रहेको छ । जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या १२ हजार २४२ पुगेको छ । कोरोना सङ्क्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस !