आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ । सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ ।

तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध

लगातार वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रबेणी सडक अवरुद्ध भएको छ । तम्घास–रिडी सडक खण्डअन्तर्गत रेसुङ्गा नगरपालिका—१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । त्यसैगरी गुल्मीकै रिडी–रुद्रबेणी सडक खण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका—२ साँघुरेमा आज बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि सडक पनि अवरुद्ध भएको छ ।

अवरुद्ध सडक खुलाउनका लागि स्थानीय नगरपालिका र गाउँपालिकाले पहल गरे पनि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या परेको रेसुङ्गा नगरपालिका—१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले जानकारी दिनुभयो । बिहानैदेखि सडक अवरुद्ध बनेपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने यातायातका साधनहरु बीच बाटोमै रोकिएका छन् । वर्षाका कारण ठाउँठाउँमा ससाना पहिरो खसेको र सडक भत्किएका कारण जिल्लाको इन्द्रेगौंडा–वामीटम्सार, रुद्रबेणी–पुर्तिघाटलगायत एक दर्जनभन्दा बढी सडकहरु समेत अवरुद्ध छन ।

पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

सोमबार रातिदेखिको वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर आइरहेका दर्जनौं सवारी साधनबीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ ।

सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरीरहेको स्थानीयवासी मोहन मल्लले जानकारी दिनुभयो । जिल्लामा गएरातिदेखि लगातार वर्षात् भइरहेको छ भने ठाउँठाउँमा पहिरा आएर सडक अवरुद्ध भएको बताइएको छ । पहिराका कारण अवरुद्ध भएको भएको राजमार्ग सञ्चालनका लागि प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो ।

राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध

अबिरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो । बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।

बार्जुगाड, बल्दे, अम्कोट, पानीनाउलालगायतका पाँच ठाउँमा पहिरो बग्न नरोकिएकाले राजमार्ग खोल्न तत्काल सम्भव देखिएको छैन । माथिबाट पहिरो खस्ने क्रम जारी रहेकाले तत्काल राजमार्ग खुलाउन कठिनाइ भएको प्रजिअ गोपालकुमार अधिकारीको भनाइ रहेको छ ।

१२ बजेदेखि बुटवल–देवदह सडक अवरुद्ध

बुटवल–देवदह सडक खण्डमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बरबहादुर बिकले जानकारी दिनुभएको छ । मध्यान्ह साढे १२ बजेदेखि सडक अवरुद्ध भएको हो । सडक भासिएपछि गन्तव्यमा हिंडेका सवारी साधन दुवैतर्फ अलपत्र परेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस !