काठमाडौँ : पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिनयता कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको पाइएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या आइतबारभन्दा एक हजार १८४ ले बढी हो । आइतबार मुलुकभर दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।

सोमबार १७ हजार २७२ जनाको नमूना परीक्षण गर्दा तीन हजार ४२१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै मुलुकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या सात लाख ३८ हजार ९१८ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमण दर १९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थप ९९९ जनामा सङ्क्रमण

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९९९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जना रहेको मन्त्रालयले जनाएको छ ।

एक हजार ६८६ जना सङ्क्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप एक हजार ६८६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या छ लाख ४५ हजार ३०१ पुगेको छ । नेपाल सङ्क्रमणमुक्त हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७३८ पुगेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुने दर १.४३ प्रतिशत रहेको छ ।

मुलुकमा ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला ११ पुगेका छन् । मन्त्रालयका अुनसार ती जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व), कास्की र रुपन्देही छन् । यस्तै २०० भन्दा बढी सङ्क्रमित हुने जिल्ला २२ पुगेका छन् ।

सङ्क्रमितमध्ये ६६९ जना सघन उपचार कक्ष र १६६ जना भेन्टिलेटरमा छन् । होम आइसोलेशनमा २५ हजार ९३ र संस्थागत आइसोलेशनमा दुई हजार ८१५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !