काठमाडौं । पूर्ववर्ती सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईद्वारा नियुक्त दुई हाकिमविरुद्ध कर्मचारीहरू आगो भएका छन् । हाकिमको ज्यादतीविरुद्ध कर्मचारीले आन्दोलन चर्काइरहँदा अत्यावश्यक सेवा प्रवाह ठप्प हुन पुगेको छ । जुनियर कर्मचारीलाई टिपेर गोकुल बाँस्कोटाले नेपाल टेलिकमको एमडी बनाएसँगै एकातिर कर्मचारीको वृत्तिविकास ठप्प भएको छ, अर्कोतिर नाफामा व्यापक गिरावट आएको भन्दै दुई दिनसम्म कर्मचारीले डिल्ली अधिकारीलाई कार्यकक्षमै बन्धक बनाइदिएका छन् । आन्दोलनरत कर्मचारीले भद्रकालीस्थित मुख्यालयमै थुनेर छोडिदिएपछि उनी सात दिनदेखि कार्यालय फर्किएका छैनन् । उता नेपाल वायुसेवाका महानिर्देशक डिमप्रकाश पौडेलविरुद्ध पनि कर्मचारीले आन्दोलन छेडिरहेका छन् ।

सञ्चालक समितिले वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरेसँगै कर्मचारी आन्दोलित बनेका हुन् । उनीहरूले महाप्रबन्धक पौडेललाई कार्यकक्षमै प्रवेश गर्न दिएका छैनन् । जसकारण एकातिर नयाँ आर्थिक शुरु भएपछि बस्नुपर्ने बोर्ड बैठक, बजेट निर्माणजस्ता काम प्रत्यक्ष प्रभावित भएको छ भने अर्कोतिर अर्थ मन्त्रालयले पुँजी बृद्धिका लागि दिन चाहेको सात अर्बसमेत जाम भएको छ ।

उता, कर्मचारी विनियमावली कर्मचारीमैत्री नभएको भन्दै नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । साउन १ गतेदेखि लागू हुने गरी नयाँ विनयमावली जारी भएसँगै कर्मचारी एमडीसँग रिसाएका हुन् । नयाँ विनियमावलीमा यसअघिको प्रावधानलाई हटाएर नयाँ प्रावधान घुसाइएको उनीहरू सुनाउँछन् । नयाँ विनियमावलीमा १०औं तहमा ८ वर्ष र ११औं तहमा ५ वर्ष काम गरेकाहरूले अनिवार्य अवकास पाउने व्यवस्थालाई हटाएर खुला प्रतिस्पर्धामा आउनसक्ने व्यवस्था राखिएको छ । कार्यकाल अब ६ महिना मात्र बाँकी भएका अधिकारीले चलाखी गरी फेरि आफू १० औं तह (प्रवन्धक)मा फर्केर काम गर्न सकिने गरी नियमावली संशोधन गराएको भन्दै उनीहरू आगो भएका हुन् ।

यसअघि टेलिकम हाँकेकाहरू फेरि प्रबन्धक पदमा फर्किएको उदाहरण छैन तर अधिकारीले आफू दशौं तहमा फर्कन मिल्ने गरी विनियमावली संशोधन गराएको बताइन्छ । अधिकारीका कारण ४ हजार बढी कर्मचारी कार्यरत नेपाल टेलिकममा ११ औं तहमा ११ कर्मचारी हुनुपर्नेमा हाल २ जना मात्र छन् । बाँकी ९ वटा पदमा १० तहका कर्मचारीलाई दरबन्दी हुँदाहुँदै पनि निमित्त दिई काम कारबाही गराइँदै आएको छ । नयाँ व्यवस्था लागू भएसँगै ९औं तहबाट खुला प्रतिस्पर्धामा आउनसक्ने कर्मचारी लामो समयसम्म एउटै पदमा रहने र कम्पनीभित्र वर्षौंदेखि काम गरिरहेका कर्मचारीको वृत्ति विकास रोकिने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् ।

यस्तै यसअघि ९ औं तहका कर्मचारीलाई ट्रेड युनियनको अधिकार दिइएकोमा कटौती गरी सातौँमा झारिएको छ । कर्मचारीहरूका अनुसार नेपाल टेलिकमको नाफा खुम्चिएको छ । कामिनी राजभण्डारी हाकिम हुँदा नेपाल टेलिकमले १७ अर्ब ९ करोड नाफा आर्जन गरेको थियो । अधिकारीले कमाण्ड सम्हालेको पहिलो वर्ष नेपाल टेलिकमको नाफा सात अर्ब २० करोडले घटेर १० अर्ब २० करोडमा खुम्चियो, यस्तै दोस्रो वर्ष आठ अर्ब ५५ करोडमा सीमित भएको नाफा अघिल्लो वर्ष ८ अर्ब ९० करोडमा सीमित हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !