काठमाडौँ : सूचना सार्वजनिक गरेपछि हालसम्म करिब रु तीन करोड बक्यौता रकम असुल गरिएकोे छ । सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा रु एक करोड ५३ लाख राजस्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वल्र्ड टे«ड सेन्टर)ले रु एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हीराचनले आगामी १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन दिनुभएको छ ।

वडा नं १४ को नेशनल हस्पिटलले रु २४ लाख, वडा नं १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा नं ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने लक्ष्य लिएको छ ।

समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ तर महानगरले विगतका दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवानामा छुट दिएको छ । सम्पर्कमा आउनेले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस !