खिलबहादुर भण्डारी

गाउँघरतिर एउटा उखान छ ‘कि आँटले खान्छ कि ढाट’ले । तर यो उखानको विम्बसंग केही नेताहरुको लागि कुनै मेल नखाने राजनीतिक स्थिति पैदा भएको छ । न यिनले आँटले खान सके, न ढाटले । केही हप्ता अघिदेखि मिति सकिएको १० बुँदे सहमतिको खोस्टो बोकेर हिड्ने भीम रावल देखि योगेश र गोकणर् विष्ट कहिले कोटेश्वर कहिले बालकोट कुदाकुद गरे । त्यो कुदाकुदले पसिना बाहेक केही झारेन । बरु त्यही पसिना सगालेर कमरेड केपी ओलीले सहमतिका बुँदाहरुलाई किचिमिचि पार्दै थुकेर फ्याकेको थाहा नपाउनेहरुलाई पशुपति शर्माको एउटा गीत छ नि ! ‘स्याङजा जाने बाटैमा तनहुँ, बिर्सि जाने मायालाई के भनौं’ मात्र भन्न सकिने भयो ।

राजनीतिमा विचार भनेको थकाली भान्साको खाना जस्तो पक्कै होइन, मुस्ताङको लयालु दाल पनि मिठो, गोरखा मनकामनाको रायोको साग पनि मिठो, थोरै गुन्द्रुक, करेला झन गजव, गोलभेडाको अचार पनि उस्तै । अथावा यसलाई यसो भन्न पनि सकिन्छ । सबै परिकारहरु मिठो, थोरै थोरै सबै मिठो । तर राजनीतिमा सबै स्वादिलो, सबै मिठो भन्ने हुदैन, नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद पनि ठीकै, एमालेको जबज पनि ठीकै, माओवादीको माओवाद पनि उस्तै भन्ने हुदैन । सबै राजनीतिज्ञहरु एउटा- एउटा विचारधाराबाट डोरिएका हुन्छन्, हुनुपर्छ । तर १० बुँदेको चिर्कटो बोक्नेहरु अहिले कुन विचारधाराबाट बाधिएर कुदीरहेको छन् ? यिनीहरुको राजनीतिक कार्यदिशा कतातिर तेर्सिएको छ ? भन्न सक्ने स्थिति छैन । राजनीतिमा यस्तो दोधारेपन पनि हुन्छ ?

केही हप्ता भीम रावल, घनश्याम भुषालहरुले संविधानका केस्रा-केस्रा केलाउदै संसद विघटनलाई प्रतिगमन हो, संविधानको हत्या हो भन्दै माधव नेपाललाई ढोल बजाएर उफारे । जनतालाई सडकमा उतारेर मिठा, गुलिया गफ लडाए । फेरि केही दिनमै रावल, भुषाल, पन्तहरु ‘बुहारी झार’ झै किन लल्याकलुलुक भएर ओइलाए, नेपाली राजनीतिज्ञहरुले विश्लेषण गर्न, दिशा ठम्याउन मुस्किल विषय भएको छ । परिपक्क, राजनीतिमा लागेर दारी फूलाएका नेताहरुले एकैछिनमा प्रतिगमन भएको देख्ने अनि अलिएकैछिनपछि अग्रगमन देख्ने कसरी हुन सक्छ ? राजनीतिमा यो भन्दा कचिलो अरु के हुन सक्छ ? समावसेवाको लागि राजनीतिमा होमिएको भन्नेहरुले सानो-सानो स्वार्थमा मन, तन बेचिदिने ? यस्तो चरित्र बोक्नेहरु अन्ततः राजनीतिमा सफल हुन सक्दैनन् । यस्ताहरुले नेतृत्व गर्न पनि सक्दैनन् । यसरी स्वाभीमान बेच्नेहरुले मुलुकलाई केही योगदान दिन्छन् भनेर हामी भ्रम पालेर बस्नु पनि हुदैन । यिनीहरु स्वार्थको झुण्ड मात्र हुन् ।

पार्टीको उपाध्यक्ष मात्र होइन, मुलुकको उपप्रधानमन्त्री समेत भइसकेका भीम रावल, माक्र्सवादलाई पानी बनाएर पिएका घनश्याम भुषाल, युवा नेतामा कहलिएका योगेश कमरेड देखि इमानको छवि बनाएका गोकणर् विष्टसम्म एक दर्जन नेताहरुको किमकर्तब्यबिमुडको स्थितिलाई सलाम हैन गुलामको पगरीले गुथाईदिदा हुन्छ । दोबाटोमा अलमलिनेहरुले मुलुकका लागि कुनै राजनीतिक विचार प्रवाह, कुनै योगदान पनि गर्न सक्दैनन् । त्यो भ्रम अब जनतासंग रहदा पनि रहेन ।

अगस्ट १५ मा अफगानिस्तानमा तालिबानहरुले राजधानी शहर काबुल कब्जा गरेपछि विश्वभरका नेताहरुले भोलिपल्टै एउटा विचार प्रवाह गरे, कसैले आतंककारी भने कसैले राजनीतिक । आतंककारी हो कि, राजनीतिक भनेर कोही अलमलिएनन् । यो हो कि, त्यो भनेर अलमलिएर बस्नेहरु राजनीतिक नेता, देश हुन सक्दैनन् । भीम रावलहरुले भने झै ओली पनि ठीक, माधव पनि ठीक ? यता पनि राम्रो, उताको पनि राम्रो, जता बढी नाफा हुन्छ उतै हुत्तिने यस्तो कर्मलाई व्यापार भन्न सकिन्छ, राजनीति भन्न सकिदैन ।

खुल्ला सडकमा गरिने व्यापारको एउटा कला छ । मान्छे हेरेर सामानको मूल्य गर्ने । अलि सोझो मान्छेजस्तो लाग्यो भने खरिद मूल्यको चारगुना बढी भाऊँ गर्यो, आधा नै घटायो भनेपनि आधा नाफा गर्ने । अलि टाठोबाठो जस्तो लाग्यो भने मुूल्यचाही दुईगुना भन्यो, घटाघट गर्दा सारै नै कम नाफा दियो भने अलिपर पुगेपछि अर्को साइजको प्याक गरेर हिडिसकेको ग्राहकलाई बोलाउदै तपाइँकै भाउँमा लानुस भन्दै दिने । अनि घर पुगेर लगाउँदा आफुले हेरेको अर्कै, घरमा ल्याउदा अर्कैै साइजको । भोलिपल्ट उस्तैपरे उपत्यकाबाहिर जानुछ, सक्कीगो ! साट्न नै गएपनि अघिल्लो दिनको व्यापारी भेट्न नै मुस्किल । राजनीतिमा मान्छे हेरेर होइन, विचार, धारणा हेरेर उसलाई समर्थन गरिन्छ । त्यसकारण खुल्ला सडकमा गरिने व्यापार जस्तो राजनीतिमा हुदैन । दारी फूलाएका नेताहरुलाई यसो भन्नु पर्दा भन्दा दुःख छ ।

नेता माधव नेपाललाई युवा नेता रामकुमारी झाक्रीले हात समातेर तानेको फोटोलाई अनेक अर्थ लगाएर सामाजिक सञ्जालमा पोस्ट गरे । यो फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । बाउ समानको नेतालाई हात समातेर तानेको फोटो माथि संस्कारहिन टिप्पणी गर्नेहरुलाई ‘छि’ भनेर थुक्नु बाहेक धेरै समय खर्च गर्नु बर्वादी मात्र हो । यसको धेरै सकारात्मक टिप्पणी पनि आयो । खासमा यो तश्विरमा एउटा राजनीतिक कार्यदिशा थियो, विचारको आवेग थियो, राजनीतिक कमाण्ड थियो । निर्वाचन आयोगको आँगनमा रामकुमारी झाक्रीले जुन साहस, हिम्मत र बहादुरी देखाइन उनका अगाडि भीम रावल, घनश्याम, रघुजी, योगेश, गोकणर्हरु त पुड्का, लाछी र पानीमरुवा सावित भए । राजनीतिको दौडमा, माक्र्सवादका व्याख्यता घनश्यामहरुलाई झाक्रीले विचारविहिन सावित गरिदिइन । रामकुमारीको युवा जोश, आवेग र विचारको अगाडि भीम रावल, घनश्याम, सुरेन्द्र पाण्डेका फूलेको दारी त पानीअमलाको घारी जस्तै सावित गरिदिइन । राजनीतिमा लागेर दारी फूलाएर मात्र हुनेरहेनछ, विचारको आवेग, जोश र हिम्मत पनि चाहिने रहेछ भन्ने कुरा रामकुमारीले प्रमाणित गरिन ।

अन्तमा अफगानिस्तानको भर्खरको ताजा प्रसङ्गको कुरा पनि जोडौं । कुनै पनि राजनीतिक विचारबाट कमाण्ड गर्न सकिएन भने अफगानिस्तानको राष्ट्रिय सेना जस्तो हुन्छ । राजनीतिले कमाण्ड छोड्न साथ हतियार बोकेको लाखौ सेना छिनभरमै सामान्य नागरिक जस्ता भए, उनीहरुले बोकेका आधुनिक हतियार सामान्य लौरोमा परिणत भयो । त्यसकारण भीम रावल, घनश्याम, योगेश, रघुजी पन्त कमरेडहरु अफगानिस्तानको विचार, कमाण्डविहिन राष्ट्रिय सेना जस्तो बन्ने कि यतिका वर्ष गरेको अलिकति राजनीतिक चरित्र जनताको अगाडि पनि देखाउने ? समय त घर्कीसकेको छ ।
(लेख लामो हुने भएकोले थुप्रै नेताहरुको नाम र थर छुटेको छ ।)

प्रतिक्रिया दिनुहोस !