काठमाडौं । प्रेस सेन्टर नेपालका सहइन्चार्ज तथा रातोपाटी अनलाइनका फाउण्डर सम्पादक ओम शर्मा प्रवास समितिका अध्यक्ष भएका छन् । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय समितिमा सदस्य समेत छन् ।

विगत सात वर्ष देखि रातोपाटी अनलाइन सञ्चाललन गर्दै आएका शर्माले लामो समय सम्म जनादेश, जनआव्हान साप्ताहिक, जनदिशा दैनिकमा सम्पादकको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । उनी पञ्चायतकालमा काठमाडौंको सेन्टर जेलमा पूर्व प्रधानमन्त्री केपी ओली, साहित्यकार नारायण ढकालसंगै जेलसमेत बसेका थिए । उनले जेलबाटै एसएलसी पास गरेका हुन् । पछि जनयुद्धकालमा जनदिशा दैनिकको सम्पादक रहेको बेलामा समेत गिरफ्तारीमा परि एक वर्ष भन्दा बढी जेल, हिरासतमा रहेका थिए ।

लामो समयदेखि पत्रकारितामा रहेका ओम शर्मालाई हालै बसेको पार्टीको केन्द्रीय समितिले फरक खालको जिम्मेवारी दिएको छ । समावेशी अनलाइनको भेटमा उनले यो जिम्मेवारीलाई नयाँ अनुभव गर्ने अवसरको रुपमा लिएको र संगठन निर्माणको कामलाई मिहेनतका साथ लाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस !