काठमाडौँ : नेकपा (एकीकृत समावेशी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको छ । पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता भएको प्रमाणपत्र प्राप्त गरेपछि औपचारिकरूपमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकारमा सहभागी हुने बताउनुभएको हो ।

अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनमा आफू पनि भएको र सरकारमा छिट्टै सहभागी हुने उहाँको भनाइ थियो । “सबै वामपन्थी लोकतान्त्रिकसँग पार्टीले सहयोग गर्छ, कांग्रेस, माओवादी, जसपासँग सहकार्य हुन्छ”, अध्यक्ष नेपालले भन्नुभयो, “सत्ता बाहिर रहेका कम्युनिष्टसँग पनि सहकार्य हुन्छ ।” आफूहरुको नयाँ पार्टी राष्ट्र र जनताप्रति समर्पित भई काम गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यो पार्टी राष्ट्रप्रति र जनताप्रति समर्पित हुनेछ, यो कुनै स्वार्थ र कुसंस्कारको झुण्डमा पर्ने छैन ।”

अध्यक्ष नेपालले क्रान्तिकारी धारमा हिँड्नेले जनता र कार्यकर्ताको चाहना बुझ्न सक्नुपर्ने र आफूले पार्टीलाई जोगाउन, राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र र जनताका हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा (एमाले) को संस्थापक आफू नै भएको र पार्टीभित्र देखिएको विकृतिलाई तिलाञ्जली दिन र नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन विकल्पका रूपमा पार्टी खोल्नुपरेको उहाँले जानकारी दिनुभयो । सो पार्टीले बुधबार निर्वाचन आयोगबाट दल दर्ता गरेको प्रमाणपत्र प्राप्त गरेको थियो । नेकपा (एमाले) प्रति असहमति जनाउँदै नयाँ पार्टी दर्ता गरेको हो ।

प्रतिक्रिया दिनुहोस !