काबुल : अफगानिस्तानको राजधानी काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुन सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन् । सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।

बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आईएस–के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ । तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन । ‘यो अन्तिम आक्रमण होइन । हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !