लहान : सिरहाको मारुती सिमेन्ट उद्योगमाथि रहेको बक्यौता रकम तिर्नु नपर्ने दाबी गर्दै उद्योगले उल्टै विद्युत प्राधिकरणमाथि अदालतमा मुद्दा दायर गरेको छ । उद्योगले सुरुमा उच्च अदालत जनकपुर राजविराज इजलाशमा मुद्दा दर्ता गराएका थिए । त्यहाँ हारेपछि फेरि जिल्ला अदालत सिरहामा दर्ता गराएको छ ।

उद्योगले डेडिकेटेड तथा ट्रकं लाइन प्रयोग गरे वापतको छुट बील रकम दस्तुर र जरिवानासहित ९९ करोड तिर्नुपर्ने देखिएको विद्युत प्राधिकरण वितरण केन्द्र मिर्चैयाका केन्द्र प्रमुख जयकुमार यादवले बताए । तर, उद्योग रकम नतिरी जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

लकडाउनका कारण पेशी तोक्न ढिलाई भएको थियो । भदौँ २२, २३ गते पेशी तोकिएको केन्द्र प्रमुख यादवले जानकारी गराए । साक्षी बकपत्रपछि मुद्दा किनारा लाग्ने उनले सुनाए । मुद्दा फैसलापछि रकम असुल्ने र विद्युत कटौती गर्ने विषयमा प्रक्रिया बढ्ने उनले बताए ।

‘०७३ साउन १ गते देखि ०७५ असार सम्मको एम पावर पोस्टिङ्ग हुँदा ६४ करोड २४ लाख ९३ हजार बक्यौता देखिएको थियो,’ केन्द्र प्रमुख यादवले भने,‘त्यतिबेला उद्योगले तिर्न मानेन । मुद्दातिर गयो । अहिले छुट बील रकम रकम बढेर अर्वमा पुगेको छ ।’ मुद्दा चलेयता चालु महिनाको शुल्क नियमित उद्योगले तिर्दै आएको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस !