काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आठ हजार ४२६ जनामा कोरोना परीक्षण गर्दा ६६२ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित ११ हजार ५७९ रहेका छन् ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १५ रहेका छन् । मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार ५०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की छन् ।

उहाँले सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका बताउनुभयो । पछिल्लो २४ घण्टामा ७५८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८४ हजार १५५ सङ्क्रमणमुक्त भएका छन् ।

यसैगरी मन्त्रालयका प्रवक्ता डा पौडेलका अनुसार आज कोरोना सङ्क्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म सङ्क्रमणबाट ११ हजार ३१८ जनाको मृत्यु भएको छ । होम आइसोलेशन १० हजार ७७२, संस्थागत आइसोलेशनमा ८०७ जना, सघन उपचारकक्ष (आइसीयू)मा २७६ र भेन्टिलेटरमा १०४ जना रहेका छन् ।

आज नौ हजार ८०२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६८ हजार २६२ पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !