डडेल्धुरा : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताउनुभएको छ । सोमबार गृहजिल्ला आउनुभएका सभापति देउवाले आज जिल्ला सदरमुकाममा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै बाटोघाटो, सडक कालोपत्र, सडक चौडालगायत खानेपानी र स्वास्थ्य तथा बेरोजगारी हटाउन पहल गर्ने बताउनुभयो ।

सभापति देउवाले पूर्वाधार तयार गर्न सकिए प्रदेश राजधानी डडेल्धुरा सार्न सकिने बताउनुभयो । “डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ”, सभापति देउवाले भन्नुभयो,“ अब संरचना निर्माण गर्छौ । त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।” डडेल्धुरामा विमानस्थल र सिटीहल निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो ।

पश्चिम सेतीसँगै पञ्चेश्वर बहुद्देश्यीय परियोजना पनि चाँडै भारत सरकारसँग समन्वय गरी सञ्चालनमा ल्याउनका लागि कुराकानी भइरहेको उहाँको भनाइ थियो । सभापति देउवाले बाटो बिर्सेर अन्यन्त्र लागेका नेता तथा कार्यकर्तालाई घर फर्किन आग्रहसमेत गर्नुभयो । “अझै केही बिग्रेको छैन घर फर्किनुस्”, उहाँले भन्नुभयो । विकास विरोधी तत्व र लोकतन्त्र मास्ने गिरोहसँग नलाग्न नेता तथा कार्यकर्तालाई उहाँले सुझावसमेत दिनुभयो ।

त्यसै गरी नेपाली कांग्रेस प्रदेश समितिका सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सच्चा राष्ट्रभक्त मात्रै कांग्रेसमा रहेको बताउनुभयो । हिजोका चुनावमा धोका दिने मात्रै मुनाफा लिएर अर्को पार्टीमा लागेको उहाँले दाबी गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य नैनसिंह महरले चुनावमा अन्तर्घात गर्ने तत्व करुवा लिएर एमालेको सतिगएको आरोप लगाउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस !