सीमा हुमागाई

यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता स् ।
जहाँ नारीलाई पुजिन्छ त्यहाँ देवताको बास हुन्छ ।

महिला हाम्रो समाजको एक अभिन्न अंग हो । अहिलेको समयमा महिला बिनाको परिवार, समाज, गाउँ, देशको कल्पना गर्न सकिदैन र महिलाबिना घरेलु,आर्थिक ,शैक्षिक र देशको बिकास हुन सक्दैन । महिला हिंसा भनेको महिला विरुद्ध हुने हिंसा हो जुन शारीरिक, मानसिक ,मनोबैज्ञानिक र भावनात्मक हुने गर्द्छ । त्यस्तै यौनजन्य प्रकृतिका दुव्र्यवहार, वैवाहिक बालात्कार, बलात्कार, चेलीबेटी बेचबिखन ,जबर्जस्ती यौन व्यवसायमा सलंग्न गराउने , छाउपडि, देउकी, वादि, झुमा राख्ने ,दाईजो प्रथा जस्ता गलत क्रियाकलापहरु पनि हिंसा जन्य क्रियाकलापहरु हुन । महिला विरुद्ध हिंसा विभिन्न प्रकारमा हुन्छन् र यो घर, सार्वजनिक स्थानमा वा कार्यलय जस्तो कुनै पनि ठाउँमा हुन सक्छ ।

महिलाहरुले समाजमा प्राचीन कालदेखि नै विभिन्न हिंसाको सामना गर्नु परेको छ । परापूर्वकालदेखि नै हाम्रो संस्कृति, परम्परा, सामाजिक विधि व्यवहारमा पनि महिलालाई पछाडि नै पारेको देखिन्छ । पितृसत्तात्मक सोचाइको कारण महिला भन्न साथ नकारात्मक दृस्टिकोणले हेर्ने चलन छ । आर्थिक, सामाजिक, शैक्षिक, रोजगार र चेतानामा पछि परेका कारण महिलाहरु हेपिदै आएका छन् ।

नेपालमा दिनानुदिन महिला माथी हुने हिंसा बढ्दै गइरहेको छ । तत्याङ्क अनुसार हेर्ने हो भने नेपालमा मात्र नभई अन्य मुलुकमा पनि महिला विरुद्ध हिंसा निरन्तर बढ्दै छ र यो चिन्ताको विषय भएको छ । आज महिला पार्क, सार्वजनिक यातायात, सिनेमा हल, शैक्षिक संस्थान, कार्यस्थल होस् जहिले पनि उनीहरुको पहरामा हुन्छन् । शिक्षा र सचेतनाको अभावमा गाम्रीण महिलाको अवस्था झनै नराम्रो छ किनभने उनीहरुले यस्ता हिंसा र अन्यायको बढी सिकार भएका छन् ।

महिला विरुद्ध हुने हिंसालाई तीन रुपमा वर्गिकरण गर्न सकिन्छ

१. अपराधिक हिंसाको रूपमा बलात्कार, अपहरण र हत्या,
२. घरेलु हिंसाको रुपमा दाइजोबाट मृत्यु ,श्रीमती कुटपिट, यौन दुर्ववहार,
३. सामाजिक हिंसाको रूपमा महिलालाई सम्पत्तिमा भेदभाव, श्रीमती वा बुहारीलाई गर्वमै कन्या भ्रुणहत्या, जबर्जस्ती विवाह,

अहिलेको एक्कासाँै शताब्दीमा जति सुकै परिवर्तन आय पनि, संचार र प्राविधिको विकास भए पनि महिलाहरु प्रती गरिने व्यवहार र सोचमा परिवर्तन आएको देखिदैन । प्रत्येक वर्ष धेरै भन्दा बढी महिलाहरु बेचबिखनमा परिरहेका हुन्छन । दैनिक जसो बलात्कार, यौन दुव्र्यवहार र एसिड आक्रमण जस्त घटनाका समाचारहरु आइरहेका छन् । बहुविवाह ,बालविवाह, अन्तर जातीय विवाहले गर्दा झन बढी हत्या हिंसा र सम्बन्ध बिच्छेद हुने गरेको छ । नेपालमा चाहे बोक्सीको आरोप होस् या छाउपडि जस्तो सामाजिक कुरीतिका कारण महिलालाई कुटपिट, शारीरिक, मानसिक , अभद्र, अमानवीय व्यवहार वा ज्युदै जलाउने र हत्या गर्ने सम्मका घृणित कार्य भइरहेको अवस्थाहरु छन ।

महिला हिंसाका मुख्य कारणहरु यस प्रकारका छन ः

१. महिलाको हिंसा सहने बानी, परिवार, सामाजिक डरले महिलाहरुले खुलेर हिंसाको बारेमा भन्न नसक्नु,
२ .उत्ततेजक फेसन र मनोरञ्जनमुखी जिवनशैली ,
३. बढ्दो बेरोजगारी,
४. बहुविवाह, बालविवाह र अन्तर जातिय विवाह ,
५. विभिन्न सामाजिक संजालहरुले ल्याएको विकृति

महिला हिंसा अब चिन्ताको विषय बनेको छ । महिला विरुद्ध हिंसाको सामना गर्नु सामाजिक कार्यकर्ताहरुका लागि टाउको दुखाई हो साथै उनीहरुको लागि ठूलो जिम्मेवारी हो । महिला हिंसा गर्नु ठूलो अपराध हो र हामी सबैले यसलाई रोक्न आवश्यक छ ।

महिला हिंसा न्यूनीकरण गर्ने उपायहरू यस प्रकार छन् ः

१. महिला हिंसा सम्बन्धि कठोर कानुनको स्थापना गर्नु आवश्यक छ ।
२. आर्थिक स्वतत्रन्ताले महिलाहरुलाई अगाडि बढ्न र विश्वलाई जित्न हौसला र आत्माविश्वास दिन्छ त्यसैले महिलाहरुका लागि रोजगारीको आवश्यक छ ।
३. महिलाहरुलाई शिक्षा, चेतना दिनुका साथै विद्यालय स्तरदेखि नै महिला मैत्री पाठ्यक्रम निर्माण गरिनु पर्दछ ।
४.आधुनिकताको नाममा उत्तेजक फेसनहरु बन्द गर्नु पर्दछ ।
५.अश्लिल चलचित्र, भिडियोहरु गीत, नाचहरुमा प्रतिबन्द लगाउनु पर्दछ ।
६. कानुन समान हुनपर्दछ ।
७. नीतिनियम र कार्यान्वयन पक्ष बलियो हुनुपर्दछ ।

अन्तमा, महिला हिंसा ठुलो अपराध हो । महिला हिंसा रोक्न विभिन्न किसिमको प्रयास र योजना बनाउनु पर्दछ । यो हिंसा कम गर्न महिला तथा समाजमा जागरुक र सचेतना फैलाउनु पर्दछ । महिला हिंसा सम्बन्धि कठोर कानुनको स्थापना गर्नु आवश्यक छ । साथै महिलालाई पनि हरेक क्षेत्रमा बराबर स्थान प्रदान गर्नु जरुरी छ । त्यसैले सरकारले हिंसा अन्त्यका लागि अनुशासित समाजको निर्माण गराउनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस !