काठमाडौँ : दसैँको महानवमीका दिन आज देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । आजको वर्षाले गर्दा दसैँका क्रममा मानिसहरुलाई आवातजावतमा पनि कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र आज प्रदेश नं १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरहेको जनाएको छ । अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरुका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार आज मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । त्यस्तै, विजया दशमीको दिन भोलि देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।

महाशाखाका अनुसार आज राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश नं १, मधेश प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विजया दशमीको दिन भोलि पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।
–––

प्रतिक्रिया दिनुहोस !