अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले त्यहाँको कङ्ग्रेस, राष्ट्रपति भवन र सर्वोच्च अदालतमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ । उहाँहरूले उक्त कदमलाई “लोकतन्त्रमाथिको आक्रमण” भन्दै निन्दा गर्नु भएको हो । ट्वीट गर्दै राष्ट्रपति बाइडेनले ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति आफ्नो देशको पूर्ण समर्थन रहेको पनि उल्लेख गर्नुभएको छ।

राष्ट्रपति बाइडेनले लेख्नु भएको छ- “म ब्राजिलमा लोकतन्त्र र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा भएको आक्रमणको निन्दा गर्दछु। ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूप्रति हाम्रो पूर्ण समर्थन छ र ब्राजिलका जनताको इच्छालाई कमजोर पार्नु हुँदैन। म लुला प्रशासनसँग काम गर्न चाहान्छु।”

त्यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले “ब्राजिलको प्रजातान्त्रिक संस्थाहरूमा भएको आक्रमणको” निन्दा गर्नु भएको छ । उहाँले ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाको इच्छालाई सम्मान गर्नुपर्नेमा पनि जोड दिनु भएको छ।
“आज भएको ब्राजिलको लोकतान्त्रिक संस्थाहरूमा भएको आक्रमणको म निन्दा गर्दछु। ब्राजिलका जनता र प्रजातान्त्रिक संस्थाहरूको इच्छालाई सम्मान गर्नुपर्छ। मलाई पूर्ण विश्वास छ कि यो हुनेछ। ब्राजिल एक महान लोकतान्त्रिक देश हो,” गुटेर्रेसले ट्वीटमा लेख्नु भएको छ ।

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सो आक्रमणको निन्दा गर्नुभएको थियो । उहाँले प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्न हिंसाको प्रयोग “अस्वीकार्य” भएको पनि उल्लेख गर्नु भएको छ ।

एन्टोनी ब्लिन्केनले भन्नुभयो “हामी आज ब्राजिलको प्रेसिडेंसी, कङ्ग्रेस र सर्वोच्च अदालतमा भएको आक्रमणको निन्दा गर्दछौं। प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गर्न हिंसाको प्रयोग सधैं अस्वीकार्य छ। हामी यी कार्यहरूको तत्काल अन्त्य गर्न आग्रह गर्दछौं।”
ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले सुरक्षा अवरोधहरू तोडेर आइतबार ब्राजिलको कङ्ग्रेस, सर्वोच्च अदालत र राष्ट्रपति भवनमा प्रवेश गरेको सीएनएनले ब्राजिलका सञ्चारमाध्यमहरूमा देखाइएका तस्वीरहरू उद्धृत गर्दै उल्लेख गरेको छ ।

लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि बोल्सोनारोका समर्थकहरू ब्राजिलियामा क्याम्पिङ गरिरहेका छन् । विरोधका कारण कङ्ग्रेसको दुवै सदन चल्न सकेको छैन। सीएनएनका अनुसार प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा आक्रमण गर्दा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा भने भवनमा अनुपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !