बुटवल : बुटवल उपमहानगरपालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि आज सार्वजनिक गरेको हो ।

नगर प्रमुख खेलराज पाण्डेयले उपलब्धि तथा प्रयास सार्वजनिक गर्दै पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलवासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा सङ्घ, प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय, सामाजिक सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।

उहाँले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उदेश्यका काम गरिएको बताउनुभयो । उहाँले नगरबासीसँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव सङ्कलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

नगर प्रमुख पाण्डेले बुटवलका मुख्य चुनौतीका रुपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासमा बुटवल १३ र १७ मा १५÷१५ शय्याका अक्सिजनसहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथलगायतका सार्वजनिक स्थानको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।

त्यसैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोग मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका एक सय ९० जना बिरामीलाई मासिक रु पाँच हजार, जटिल रोग अनुदान सहयोग कार्यक्रमअन्तर्गत एक सय ४५ जनालाई प्रतिबिरामी रु १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराइएको उपलब्धिमा समेटिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले बुटवलले जसरी प्रभावकारीरुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र सङ्घीय सरकारकै काममा आफूहरुले समय खर्चेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधैँ तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !