काठमाडौँ : नेपाली सेना र सञ्चारकर्मीबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानमा भएको प्रतियोगितामा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर)को टोली १–० गोलले विजयी भयो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । उक्त निर्देशनालय विसं २०५८ चैत २० गते स्थापना भएको थियो ।

प्रतियोगितामा निर्देशनालय टोली संयोजक प्रवक्ता कृष्णप्रसाद भण्डारी र सञ्चारकर्मीका तर्फबाट टोली कप्तान समाचारपत्र दैनिकका सम्पादक दीपक रिजाल हुनुहुन्थ्यो । प्रतियोगितामा सेनाको टोली हरियो रङ र सञ्चारकर्मीको टिम निलो जर्सीमा मैदानमा उत्रिएको थियो ।

निर्देशनालयले सैनिक र सञ्चार जगत्बीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले निर्देशनालय स्थापनाका अवसरमा पछिल्ला वर्ष यस किसिमको प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक र रेफ्रीलाई सैनिक तालिम महानिर्देशक सन्तोषकुमार ढकालले मायाको चिनो प्रदान गर्नुभयो । निर्देशनालयले यस वर्ष स्थापना दिवस समारोह भोलि शुक्रबार गर्दैछ ।

प्रतिक्रिया दिनुहोस !