काठमाडौं । नवलपुर जिल्लाको भेडाबारीमा उद्योग रहेको बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीका उत्पादन काल्र्सवर्ग, टुबोर्ग, गोर्खा, सानमिगेल बियरमा माल्टको मात्राभन्दा कनिका धेरै भेटिएपछि वियरको मान्यताबाट आउट भएको छ । आन्तरिक राजश्व विभागले वियरको मान्यता नपाएपछि अन्तःशुल्कको मूल्य पनि बढाइदिएको छ । विभागले प्रशोधित जौंको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै बियरको मान्यता नदिएको थाहा भएको छ ।

उल्लेखित नामका बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्य रक्सी सरहको अन्तःशुल्क तिर्नुपर्ने गोर्खा ब्रुअरीलाई निर्देशन समेत दिएको छ । बियरमा प्रतिलिटर अन्तःशुल्क १६५ छ । तर, कनिका बढी हालेका कारण विभागले बियरको मान्यता नदिई अन्य सरहको अन्तःशुल्कका लागि कम्पनीलाई निर्देशन दिएको हो ।

विभागले कायम गरेको अन्तःशुल्क तिर्न आनाकानी गरेपछि गोरखा ब्रुअरीको सबै उत्पादन दस दिनदेखि बजारमा गएको छैन । कम्पनीले भने नयाँ अन्तःशुल्क नभई पुरानै अन्तःशुल्कमा बियर बजारमा पठाउनका लागि आन्तरिक राजश्व विभाग र भन्सार विभागलाई दबाब दिएको छ ।
आन्तरिक राजश्व विभागका निर्देशक शालिग्राम आचार्यले गोर्खा ब्रुअरीको उत्पादनमा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर के गर्ने भन्ने निर्णय भइ नसकेको बताए । ‘यसमा भन्सार विभागको पनि राय लिनुपर्ने भएकाले उता पनि पत्राचार भएको छ,’ उनले भने ।

विभागले यसअघि बजारमा पठाइसकेको बियरको पनि नयाँ अन्तःशुल्क कायम गर्न खोजिरहेको छ । यही विषयमा थप अनुसन्धान गर्नका लागि दुवै विभागले छलफलसमेत गरिरहेका छन् । विभागले गोर्खा ब्रुअरी, माउन्ट एभरेष्ट ब्रुअरी, यती ब्रुअरी, शेर्पा ब्रुअरी, सिजी ब्रुअरी, नेपाल ब्रुअरी, टाइगर ब्रुअरी, याकब्रुअरी, राज ब्रुअरीको उत्पादनमा गुणस्तर परीक्षण गरेको थियो । यी ब्रुअरी कम्पनिहरुमा भने कुनै कमजोरी नभेटिएको एक कर्मचारीले बताए ।

प्रतिक्रिया दिनुहोस !